मेलम्ची पानी आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्रीद्वारा अवलोकन हुने

मुख्य खबर

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ ।

आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।

सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।

पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । मेलम्चीको पानी आए काठमाडौं उपत्यकामा खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ ।

उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट दैनिक आठ करोड लिटर पानीमात्रै वितरण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *