८० विद्यालयमा नर्स राख्ने तयारी

मुख्य खबर शैक्षिक निगरानी

सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षालाई महिलामैत्री तथा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई अझ सार्थक बनाउन प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा माध्यमिक विद्यालयहरूमा नर्स राख्ने तयारी गरेको हो ।

विद्यालय नर्स भर्नाका लागि सामाजिक विकास मन्त्रालयले ५ फागुनमै सूचना आह्वान गरिसकेको छ । चालू आर्थिक वर्षमा प्रत्येक जिल्लाबाट १० वटाको दरले माध्यमिक विद्यालय छनोट गरी त्यसमा विद्यालय नर्स राखिने सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत अजित केशरीले जानकारी दिए । 

दलित, मुस्लिम तथा समाजमा पछाडि पारिएका समुदायका छात्राको संख्या र भौतिक संरचनालाई आधार बनाएर कार्यक्रमका लागि विद्यालयहरू छनोट गरिने उनले बताए । विद्यालयबाटै बालबालिकालाई स्वास्थ्य तथा पोषण सम्बधमा सचेत गराउने, स्वस्थ, सफा, तथा सिकाइमैत्री वातावरण तयार गरिने, किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराइने तथा विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम तयार गरिएको अधिकृत केशरीले बताए । 

त्यसैगरी, विद्यालयमा नर्स भएको खण्डमा विद्यालयमा रहेको वेलामा विद्यार्थीमा एक्कासि हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्याको प्राथमिक उपचारका लागि सजिलो हुने उनले बताए । यौन तथा प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, बालहिंसालगायतका विषयमा नर्सबाटै अध्ययन गराएको खण्डमा किशोरीहरू खुलेर कुरा गर्न सक्ने भएकाले पनि यो निर्णयमा पुगेको उनको भनाइ छ । महिनावारीको वेलामा किशोरीहरू हप्तौँसम्म विद्यालय नआउनेजस्ता समस्या रहेकाले यस्ता कार्यक्रमले ती समस्या केही हदसम्म समाधान हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *