नेपालगन्ज— नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको नेतृत्वमा सातै वटा प्रदेशमा एकीकृत जैविक तथा व्यवहारिक सर्भिलेन्स सर्वेक्षण २०२० सार्वजनिक भएको छ ।

सर्वेक्षणमा एचआईभी र यौन रोगको ज्ञान, त्यस सम्बन्धी जोखिम व्यवहारहरु, सुई प्रयोग गर्ने अभ्यास व्यापकता दरको मापन गरिएको थियो ।
अध्ययनमा १६९० जना सुईद्वारा लागूऔषध प्रयोगकर्ता पुरुषहरु र १५० जना महिलाहरुलाई सहभागी गराइएको थियो । सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुको तुलनामा महिलाको सञ्जाल कमजोर पाइएकाले अध्ययनमा महिला कम समावेश रहेको जनाइएको छ भने सबै प्रदेशहरुमा सञ्जाल नभएकोले सञ्जाल भएको प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशबाट अध्ययनका लागि नमुना लिइएको थियो ।
पुरुष सहभागीहरुको औसत उमेर २८ वर्षको थियो भने महिला सहभागीहरुको औसत उमेर २५ वर्षको थियो ।
नेपालमा सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुको एचआईभी प्रिभेलेन्स पुरुषमा २.८ प्रतिशत र महिलामा २.० प्रतिशत रहेको नतिजा देखिएको छ ।
पुरुष सहभागीहरुमध्ये १९ प्रतिशतले एक अर्कासँग सुई साटासाट गरेर लागूऔषध प्रयोग गर्ने बताएका थिए । जसमध्ये ४३ प्रतिशतले विगत एक महिनामा एउटै सुई अर्को व्यक्तिसँग साटासाट गरेर लागूऔषध प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ । साथै ४२ प्रतिशतले पहिले प्रयोग गरिसकेको सुई पुन: प्रयोग गरेको बताएका थिए । त्यसैगरी महिला सहभागीहरुमध्ये ९ प्रतिशतले एक अर्कासँग सुई साटासाट गरेर लागूऔषध प्रयोग गर्ने बताएका थिए । जसमध्ये २९ प्रतिशतले विगत एक महिनामा एउटै सुई अर्को व्यक्तिसँग साटासाट गरेर लागूऔषध प्रयोग गरेको बताएका थिए ।
अध्ययनमा सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुमा हेपटाइटिस सीको संक्रमण पुरुषमा १३ प्रतिशत र महिलामा ८ प्रतिशत रहेको नतिजाले देखाउँछ ।
हेपटाइटिस सीको संक्रमण दर सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुमा उच्च हुने सम्भावना भएकोले एचआईभीसँग हेपटाइटिस सी रोकथामसँग सम्बन्धित कार्यक्रमहरु अझ प्रभावकारी रुपमा अघि बढाउनुपर्ने अध्ययनको निष्कर्ष छ ।
त्यसैगरी यौन सम्पर्कमा नियमित कण्डमको प्रयोग गर्ने व्यवहारमा न्यूनता, एचआईभी संक्रमण सम्बन्धी सही ज्ञानको कमी र सुई साटासाट गर्ने जोखिमपूर्ण व्यवहार अझैपनि देखिएको अध्ययनको नतिजाले देखाउँछ ।
केन्द्रका अनुसार सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुमासन् २००२ देखि विभिन्न चरणहरुमा एकिकृत जैविक तथा व्यवहारिक सर्भिलेन्स हुँदै आएको छ ।