लागूऔषध प्रयोगकर्तामा गरिएको सर्वेक्षणमा १६९० पुरुष र १५० जना महिला

मुख्य खबर स्वास्थका कुरा

नेपालगन्ज— नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको नेतृत्वमा सातै वटा प्रदेशमा एकीकृत जैविक तथा व्यवहारिक सर्भिलेन्स सर्वेक्षण २०२० सार्वजनिक भएको छ ।

सर्वेक्षणमा एचआईभी र यौन रोगको ज्ञान, त्यस सम्बन्धी जोखिम व्यवहारहरु, सुई प्रयोग गर्ने अभ्यास व्यापकता दरको मापन गरिएको थियो ।

अध्ययनमा १६९० जना सुईद्वारा लागूऔषध प्रयोगकर्ता पुरुषहरु र १५० जना महिलाहरुलाई सहभागी गराइएको थियो । सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुको तुलनामा महिलाको सञ्जाल कमजोर पाइएकाले अध्ययनमा महिला कम समावेश रहेको जनाइएको छ भने सबै प्रदेशहरुमा सञ्जाल नभएकोले सञ्जाल भएको प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशबाट अध्ययनका लागि नमुना लिइएको थियो ।

पुरुष सहभागीहरुको औसत उमेर २८ वर्षको थियो भने महिला सहभागीहरुको औसत उमेर २५ वर्षको थियो ।

नेपालमा सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुको एचआईभी प्रिभेलेन्स पुरुषमा २.८ प्रतिशत र महिलामा २.० प्रतिशत रहेको नतिजा देखिएको छ ।

पुरुष सहभागीहरुमध्ये १९ प्रतिशतले एक अर्कासँग सुई साटासाट गरेर लागूऔषध प्रयोग गर्ने बताएका थिए । जसमध्ये ४३ प्रतिशतले विगत एक महिनामा एउटै सुई अर्को व्यक्तिसँग साटासाट गरेर लागूऔषध प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ । साथै ४२ प्रतिशतले पहिले प्रयोग गरिसकेको सुई पुन: प्रयोग गरेको बताएका थिए । त्यसैगरी महिला सहभागीहरुमध्ये ९ प्रतिशतले एक अर्कासँग सुई साटासाट गरेर लागूऔषध प्रयोग गर्ने बताएका थिए । जसमध्ये २९ प्रतिशतले विगत एक महिनामा एउटै सुई अर्को व्यक्तिसँग साटासाट गरेर लागूऔषध प्रयोग गरेको बताएका थिए ।

अध्ययनमा सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुमा हेपटाइटिस सीको संक्रमण पुरुषमा १३ प्रतिशत र महिलामा ८ प्रतिशत रहेको नतिजाले देखाउँछ ।

हेपटाइटिस सीको संक्रमण दर सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुमा उच्च हुने सम्भावना भएकोले एचआईभीसँग हेपटाइटिस सी रोकथामसँग सम्बन्धित कार्यक्रमहरु अझ प्रभावकारी रुपमा अघि बढाउनुपर्ने अध्ययनको निष्कर्ष छ ।

त्यसैगरी यौन सम्पर्कमा नियमित कण्डमको प्रयोग गर्ने व्यवहारमा न्यूनता, एचआईभी संक्रमण सम्बन्धी सही ज्ञानको कमी र सुई साटासाट गर्ने जोखिमपूर्ण व्यवहार अझैपनि देखिएको अध्ययनको नतिजाले देखाउँछ ।

केन्द्रका अनुसार सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुमासन् २००२ देखि विभिन्न चरणहरुमा एकिकृत जैविक तथा व्यवहारिक सर्भिलेन्स हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *