मजदूर आन्दोलनमा लुटपाट, प्रहरी मुकदर्शक, चौतर्फी विरोध !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरको आन्दोलनको क्रममा गोंगबुस्थित नयाँ बसपार्क बाहिर रहेको ल्होत्से मलमा लुटपाटदेखि भौतिक संरचनामा क्षति पु¥याउने काम भएपछि यसको चौतर्फी विरोध शुरु भएको छ ।

अराजक शैलीमा आन्दोलनकारीले मलमा रहेका मोबाइल पसलमा छिरेर लुटपाट गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले विरोध गर्दै क्षतिपूर्तिको माग समेत गरेको छ ।

घटनामा संलग्नलाई कारबाही गर्न सरकारले निर्देशन दिएपनि विरोध र विवाद भने मत्थर हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरुको माग पुरा गर्ने भनी उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आश्वासन दिएपछि हड्ताल फिर्ता गर्न यातायात मजदुर तथा ब्यवसायीहरु सहमत भए ।

ट्राफिक प्रहरीले दुःख दिएको र वसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ज्यादति गरेको भन्दै आन्दोलनमा उत्रिएका मजदूर र यातायात व्यवसायीहरु सोमबार अत्यन्तै अराजक शैलीमा आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनकारीहरुले प्रहरी भ्यान र अस्थायी बिट जलाउनुका साथै लोत्से मल तोडफोड गर्नुका साथै पसलबाट मोबाइल समेत लुटपाट गरेका छन् । लुटपाटका घटना बाहिरिएसँगै सरकारले यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।

सोमबार यातायात व्यवसायीको कार्यक्रममै कुटपीटको घटना भएपछि स्थिति नियन्त्रणबाहिर गएको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईको भनाई छ ।

आक्रमणमा उत्रिनेलाई पक्राउ गर्ने, ल्होत्सेबारे छानविन गर्ने र मजदूरलाई पूर्ववत् रुपमा काममा फर्किन वातावरण बनाउने सहमतिपछि उनीहरु आन्दोलन फिर्ताका निम्ति तयार देखिएका हुन् ।

नेपाल मोबाइल व्यवसायी महासंघले भने यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग बताएको छ ।

मंगलवार महासंघले नयाँ बसपार्कको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको छ ।

त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिव ८ देखि ९ करोड रुपैयाँबराबरको मोबाइल, पैसा र अन्य सामाग्रीहरु लुटिएको बताएका छन् भनृ महासंघका महासचिव रमेश घिमिरेले व्यवसाय सञ्चालन गर्ने सुरक्षित वातावरण नभएको दुखेसो पोखेका छन् ।

यातायात ब्यवसायीहरुले भने आन्दोलनको क्रममा घुसपैठ भएको भन्दै बचाउ गरेका छन् । तर, नयाँ बसपार्क क्षेत्रमा उनीहरुको आन्दोलनको क्रममा भएका व्यवहारहरु भने अत्यन्तै अमानविय किसिमका देखिन्छन् ।

सर्वसाधारणले बाटो हिड्दा समेत हात उठाएर आत्मसमर्पण भावमा आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । सोही घटनाका कारण प्रहरी प्रशासनसमेत विवदित भएको छ ।

आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेवारी नै खोसिएको छ ।

डीएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ भने विष्ट तानिएपछि उनको स्थानमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

आन्दोलनको नाममा अराजकरुपमा लुटपाट र तोडफोड गरिएपछि आन्दोलनरत पक्षमाथि पनि गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *