ललितपुर । ललितपुरको पुल्चोकमा एक विद्यालय छ –मदन स्मारक । यो विद्यालयमा पढाउन गएका शिक्षिकाहरु दिनभर सुत्छन् । विद्यालयमै निदाउँछन् । विद्यालयमा ६५० विद्यार्थी छन् र २३ शिक्षक छन् । विद्यार्थी उत्तीर्ण हुने प्रवृत्ति हेर्दा विद्यालय गुणस्तरीय शिक्षाका लागि राम्रो छैन । औसत नै छ । सुधारका लागि गर्नु पर्ने अनगिन्ति कामहरु छन् । तर विद्यालय अनावश्यक विवादमा पर्दै आएको छ ।
पहिलो त यस विद्यालयमै शिक्षकहरुले आफ्नो निजी आयका लागि ट्युसन पढाउँछन् । अर्थात् विद्यालयलाई शिक्षकहरुले ट्युसन सेन्टर बनाएका छन् । विदेश गएका शिक्षकहरुलाई समेत सुविधाको बिदा दिएर हाजिरी मिलाइएको त प्रमाणित नै भएको छ । विकृतिविरुद्ध बोल्ने एक शिक्षिकालाई सरुवा गरिएको छ । शिक्षकहरुबीच कुटाकुटसम्म भएका घटना त प्रधानाध्यापक स्वयंले पुष्टि गरेका छन् । शिक्षाको मन्दिरमा अनेक प्रकारका विवाद आखिर किन ?
यो दृश्य ललितपुर पुल्चोकस्थित मदन स्मारक मावीको हो । बालबालिकालाई सिकाउने समयमा शिक्षिकाहरु सुतिरहेका छन् । यस्तो दृश्य मदन स्मारकको हकमा सामान्य रहेको दावी गरिन्छ । शिक्षिका निदाउने मदन स्मारक र ललितपुर महानगर ५० मिटरको दूरीमा छन् । विद्यालय व्यवस्थापनको जिम्मेवारी महानगरकै हो । तर महानगरको आडमा रहेको मदन स्मारकका सम्बन्धमा बग्रेल्ति विवाद र गुनासा प्रकट भएका छन् । यस विद्यालयकै शिक्षिकको रुपमा काम गरिसकेकाहरुको दावीअनुसार शिक्षकरुको ध्यान सिकाइमा भन्दा गफमा, निद्रामा, मोबाइलमा जाने गरेको छ । नियमित विद्यालय नआउने तर हाजिरी मिलाउने, विद्यालयमा बाहिरी विद्यार्थी ल्याएर ट्युसन पढाउने तर कक्षामा राम्रो सिकाइ नगर्ने आदि कारणले विद्यालयको शाख घट्दो क्रममा छ ।
फर्जी हाजिरीदेखि दूव्र्यवहारसम्मका प्रकरण, विद्यालय भन्छ –ती सबै झुठ हुन्
विद्यालयका शिक्षक हरि एसी अर्थात हरिबहादुर आचार्य क्षेत्री र प्रकाश गिरीले विद्यालयमै अग्रेजी भाषाको ट्युसन पढाउँछन् । बाहिरका विद्यार्थीलाई आफ्नो ट्युसन सेन्टरका रुपमा शिक्षक आचार्यले दूरुपयोग गरिरहेका छन् । शिक्षक आचार्य स्वयंले विद्यालय समयभन्दा बाहिर ट्युसन लिने गरेको स्वीकार गर्छन् । उनले बाहिरबाट विद्यार्थी नबोलाएको दावी पनि गरेका छन् । विद्यालयको स्रोत साधन आफ्नो कमाईमा प्रयोग गरेको यस्तो आरोपमा शिक्षक आचार्यको आलटाले जवाफ छ ।
विद्यालयलाई निजी फाइदाका लागि ट्युसन सेन्टर बनाएको दावीका सम्बन्धमा प्रधानाध्यापक गोविन्द पौडेले आफू जानकार नरहेको जवाफ दिएका छन् । विद्यालयमा वर्षौंदेखि कोहिँ पनि लेखापाल छैनन् । तर लेखापालको तलब भुक्तानी नियमित भइरहेको छ । लेखापालले गर्ने काम विद्यालयकै लेखा विषयका शिक्षक श्याम सुन्दर महर्जनले बुझ्ने गरेका छन् । उनैले लेखाको काम पनि सम्हाल्दै आएका छन् । यससम्बन्धमा विद्यालयका प्राधानाध्यापक पौडेलले टेलिफोनमा दोहोरो तलब कसैले पनि नबुझेको दावी गरेका छन् । प्रत्यक्ष भेटमा प्रअ पौडेलले केही फरक जवाफ दिएका छन् ।
विद्यालयले शिक्षकहरुको विदा र हाजिरीमा पनि अनियमित शैली अपनाएको दावी गरिएको छ । निवृत्त भइसकेकी शिक्षिका पवित्रा भट्टराई छ महिने बिरामी बिदा लिएर क्यानडा गएकी थिइन् । उनी क्यानडा गएको विषयमा विद्यालय पूर्णतः जानकार थियो । तर विद्यालयले उनी बिरामी नै भएको भनेर उनको विदा मिलाएको थियो । पछि क्यानडा गएको दावी गर्दै विद्यालयकै अर्की शिक्षिका पुष्पा कार्कीले उजुरी दिइन् । त्यो उजुरीपछि फर्जी विदा प्रमाणित भयो । विद्यालयका अर्का एक शिक्षक मापसे गरेर विद्यालय आउने गरेको, दूव्यवहारको मामिलामा पनि मुछिएको दावी गरिएको छ ।
बेथितिविरुद्ध बोलेबापत सरुवा
विद्यालयकी शिक्षिका पुष्पा कार्कीलाई केही महिना अघि सरुवा गरियो । सरुवाका लागि विद्यालयका शिक्षकरुले नै महानगरमा निवेदन दिएका थिए । अनियमित बिदा, फर्जी हाजिरी, विवादास्पद लेखापाल आदिबारे आवाज उठाउँदा कार्कीको सरुवा गरिएको छ । सिकाइमा कुनै समस्या नरहेकी कार्कीलाई महानगरको शिक्षा महाशाखामा पठाइएको छ । १० वर्षदेखि मदन स्मारकमा पढाउँदै आएकी कार्कीलाई सात महिनादेखि तलब समेत दिइएको छैन ।