बाँकेमा पहिलोपटक जिल्लाको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक युवाहरुमाझ नमुना युवा गाउँसभाको अभ्यास गरिरहेको छ । बुधबारदेखि गाउँपालिकाको सभाहलमा भइरहेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले प्रयोगात्मकरुपमा अभ्यास गर्ने अवसर पाएका छन् ।
राष्ट्रिय युवा परिसदद्वारा नमुना युवा संसद अभ्यास कार्यक्रमअन्तर्गत एक जिल्ला एक पालिकामा प्रशिक्षण दिइरहेकोमा बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गतका ९ वटै वडाका युवाहरुलाई सहभागिता गराइएको राष्ट्रिय युवा परिषद्का प्रशिक्षक युवराज जोशीले बताए । साथै सहभागीहरुलाई जोशीसहित परिषद्का प्रशिक्षक समिरअलि बेहना, युवराज खड्काले पनि प्रशिक्षण दिए ।
कार्यक्रममा १६ वर्षदेखि २४ वर्ष उमेर समूहका करिब ३० जना युवाको सहभागी रह्यो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सचिवको काम कर्तब्य, उनीहरुले नीति तथा कार्यक्रम, उपप्रमुख तथा उपाध्यक्षले बजेट बक्तब्य प्रस्तुत गर्ने तरिका, गाउँ तथा नगर सभा र त्यसमा छलफल कसरी हुन्छ भन्ने विषयमा नमुना चुनावसहित अभ्यास गरिएको प्रशिक्षक जोशीले बताए । कार्यक्रमको कार्यवीधि अनुसार दुई दिनसम्म देशको शासन व्यवस्थासम्बन्धि नीति नियमका बारेमा जानकारी गराउने र दुई दिन प्रयोगात्मक नमुना अभ्यास गराइने तालिका रहेको उनले बताए ।
कार्यपालिकाका सम्पूर्ण सदस्यहरुलाई सहभागी गराएर प्रशिक्षार्थी युवाहरुले नै गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष बनेर नमुना गाउँसभा अभ्यास गराइएको प्रशिक्षक जोशीले बताए । सो अभ्यासले आगामी दिनहरुमा युवा जनप्रतिनीधि आएपछि स्थानीय तहको नीति तथा कार्यक्रम र स्थानीय पालिकामा सात चरणमा आउने बजेट र उपयोगिताबारे सहज हुने जोशीले बताए ।
राष्ट्रिय युवा परिसद्ले देशको ७७ वटै जिल्लामा माघ मसान्तसम्म जिल्लास्तरीय कार्यक्रम गरिसकेपछि प्रदेश र संघमा पनि युवा नमुना संसदको अभ्यास गराइने प्रशिक्षक जोशीले बताए । जोशीका अनुसार कार्यक्रममा सहभागीले बजेट निर्माणका प्रक्रिया, अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीको काम तथा कर्तव्य, नीति तथा कार्यक्रम कसरी पारित गर्र्ने विषयमा जानकारी पाए ।
राप्ती सोनारीमा जारी कार्यक्रममा सहभागी युवाहरुले नौलो अभ्यास गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । वडास्तरीय बालक्लबमा बसेर बालअधिकारको सवालमा मात्र आवाज उठाउँदै आएको बताउने राप्ती सोनारी गाउँपालिका – ३ निवासी १७ वर्षीया एलिशा शाहीले यो कार्यक्रममा सहभागी भएर गाउँपालिकको जनप्रतिनीधिले गर्ने काम कर्तब्यबारे छर्लंग भएको बताइन् ।
कार्यक्रमको अन्तिम दिन शुक्रबार राप्ती सोनार गाउँपालिकाका अध्यक्ष तप्तबाहदुर पोडेल, उपाध्यक्ष मनिषासिंह थारु एवम् पालिकाका ९ वडाका वडाअध्यक्ष तथा महिला सदस्यको सहभागिता रहेको थियो ।
यस्ता नमुना कार्यक्रम संचालन गर्दै आएका जोशीका अनुसार प्राय युवाहरुमा राजनीतिक चेतना बढे पनि युवाका लागि पालिका एवम् नगरले छुट्याएको बजेटका बारेमा भने जानकार नहुने गरेका छन् ।