विराटनगर : मोटर पार्टस् बोकेको एउटा भारतीय नम्बर प्लेटको ट्याक्टरलाई प्रहरीले विराटनगरबाट मंगलबार राति नियन्त्रणमा लिएको छ।
भन्सार छली गरेको आशंकामा मोटर पार्टस् लोड गरिएको बीआर ७ के १७२४ नम्बरको ट्याक्टरलाई विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उक्त ट्याक्टर विराटनगर भन्सार कार्यालयबाट सामानको जाँचपास गराएर गन्तव्यतिर जाँदै थियो। प्रहरीले राति १०:२० बजेतिर नियन्त्रणमा लिएको हो।
जाँचपासका क्रममा सामानको मूल्याङ्कन कम गरिएको हुनसक्ने प्रहरीको आशंका छ। तस्करीको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको डीएसपी श्रेष्ठको भनाइ छ। उनका अनुसार ट्याक्टरका चालक भारत अररियाका २४ वर्षीय तलुवा मुर्मलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले सामान र ट्याक्टरको मूल्यांकन ३७ लाख रूपैयाँ बराबरको गरेको छ। सामान र ट्याक्टरसहित चालकलाई राजस्वमा बुझाइएको श्रेष्ठले बताए। थप कारबाहीको प्रक्रिया राजस्वले नै अगाडि बढाउने उनको भनाइ छ।
पछिल्लो समय विराटनगर भन्सार कार्यालयको मिलेमतोमा सामानको तस्करी हुने गरेको छ। भन्सारबाट जाँचपास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजस्वले अनुसन्धान अघि बढाउँदा तस्करी मौलाएको पुष्टि भएको हो।
तस्कर समूह, व्यवसायी एवं सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्यांकन कम गरिदिने तथा कम परिणाम देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको पाइएको राजस्व स्रोतले बतायो। प्रहरीले सामान लोड गरिएका साधन नियन्त्रणमा लिनेवित्तिकै भन्सारले आपत्ति जनाउने गरेको छ। आफूसँग ‘सेटिङ’ मिलाएर गन्तव्यतर्फ लगिँदै गरिएका सामान प्रहरीले नियन्त्रणमा नलिओस भन्ने भन्सारको चाहना रहेको स्रोतले बतायो। विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार जाँचपासमा कुनै कमजोरी नरहेको दाबी गरेका छन्।
‘भन्सारबाट त्यस्तो गलत काम केही पनि भएको छैन। यदि भएको रहेछ भने प्रमाण लिएर आउनुस्, बसेर कुरा गरौँला,’ उनले भने, ‘हाम्रो जाँचपासको विषयमा कसैले पनि प्रश्न उठाएको छैन। तस्करीको विषय अनआवश्यक हल्ला मात्रै हो।’ यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्वमा बुझाएको थियो।
सुपारीको जाँचपासलाई लिएर भन्सारको काम कारबाहीमा उच्च अदालत विराटनगरले पनि प्रश्न उठाएको छ। तर राजस्व अनुसन्धान कार्यालयले अहिलेसम्म सुपारीको अनुसन्धान अघि बढाएको छैन। अदालतको आदेशपछि पनि सुपारी तस्करीमा संलग्न समूहसँग साँठगाँठ गरेर अनुसन्धान एवं कारबाहीलाई राजस्वले टारिरहेको छ। यो खबर अन्नपूर्ण मा छ ।