लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।
यो सँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले सेतोपाटीलाई जानकारी दिए।
चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट नदीले तटबन्ध भत्काएको हो।
अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।
सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।
‘बाँध फुटेर पुरानै धारतिर कोशी बगिरहेको छ। बस्ती सार्ने काम भइरहेको छ’, प्रजिअ यादवले भने,‘ यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिन्छ।’
उनले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएकोसमेत जानकारी दिए।
लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको थियो। सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।
सप्तकोसीमा सोमबारदेखि पानीको बहाव निरन्तर बढिरहेको छ। नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएको थियो। यो खबर सेतोपाटी खबर मा छ ।