पाकिस्तानी भूमिमा मिसाइल प्रहार भएकोमा क्षमा चाहन्छौँ, भारत

मुख्य खबर

काठमाडौं । गत मार्च ९ मा पाकिस्तानमा मिसाइल प्रहार भएकोप्रति भारतले पाकिस्तानसँग क्षमा याचना गरेको छ ।

भारतीय रक्षा मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार प्रविधिक त्रुटिका कारण पाकिस्तानी भू-भागमा मिसाइल प्रहार भएको भन्दै क्षमा मागेको हो ।

‘मार्च ९, २०२२ का दिन नियमित मर्मतका क्रममा प्राविधिक गडबढी हुँदा भूलवश मिसाइल प्रहार हुन गएको हो,’ नयाँ दिल्लीस्थित भारतीय रक्षा मन्त्रालयले भनेको छ, ‘उक्त मिसाइल पाकिस्तानी भूभागमा प्रहार हुनु दुर्भाग्यपूर्ण ठानेका छौं।’

सुरुमा भारतको रक्षा मन्त्रालयले पुष्टि नगरेपनि त्यहाँका सञ्चारमाध्यमहरूले उक्त मिसाइल ब्राम्होस हुन सक्ने भन्दै समाचार प्रसारण\प्रकाशन गरेका थिए ।

त्यस्तै उक्त घटनामा कुनै पनि मानवीय क्षति नहुनुलाई भारतीय पक्षले ठूलो राहतको महशुश गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतले मिसाइल प्रहार गरेपछि पाकिस्तान भारतसँग रुष्ट बनेको थियो । उसले आफ्नो मुलुकमा भारतले नियतबस मिसाइल प्रहार गरेको भन्दै विरोध जनाएको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयले इस्लामावादस्थित कार्यवाहक भारतीय राजदूतलाई मन्त्रालयमै बोलाएर घटनाको कडा विरोध गर्दै त्यसबारे स्पष्टिकरण मागेको थियो।

भारतको यस्तो निन्दनीय व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामा समेत गम्भीर चुनौति खडा गरेको पाकिस्तानले बताउदै आएको छ ।

भारतका तर्फबाट पाकिस्तानी एयर स्पेस उल्लंघन गर्ने निन्दनीय काम भएको भन्दै पाकिस्तानले आपत्ति जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *