चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिना (साउन-जेठसम्म) नेपालको कुल बजेट खर्च ६२.१७ प्रतिशत मात्र भएको छ । सरकारले चालु आवमा कुल १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।
तर, यो लक्ष्यलाई आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले १२ खर्ब ६६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्ने गरि झारेको छ । यो दोस्रो संशोधन हो । चालु आवको बाँकि एक महिनामा संशोधित लक्ष्य भेटाउने हो भने अब सरकारले प्रतिदिन करिव १२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।
११ औं महिनासम्म चालु खर्च संतोषजनक नै भएपनि पुँजीगत खर्च भने टिठलाग्दो छ । आवको अन्तिम महिना बाँकी रहँदा अब लक्ष्यको ६० प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च गर्नुपर्ने देखिएको छ । जेठ मसान्तसम्म मात्र ४०.५४ प्रतिशत पुँजीगत खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च ९ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये चालु खर्च ७ खर्ब ६१ करोड रुपैयाँ र पुँजीगत खर्च १ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ७३.८३ र ४०.५४ प्रतिशत प्रगति हो । वित्तीय व्यवस्थामा यो अवधिमा ७३ अर्ब १५ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ४२.३४ प्रतिशत हो ।
यस्तो छ चालु आवको संशोधित अनुमान र जेठ मसान्तसम्मको खर्च (रु. लाख)
शीर्षक खर्च | आव २०७७/७८ को विनियोजन | अर्धवाषिर्क समिक्षाको संशोधन | बजेट २०७८/७९ बाट संशोधन | जेठ मसान्तसम्मको खर्च | विनियोजनको तुलनामा जेठसम्मको खर्च प्रतिशत |
चालु | ९४८९४०६ | ९१४७८०० | ८६७५४१२ | ७००६१४१ | ६२.१६ |
पुँजीगत | ३५२९१७५ | २८३०४०० | २५१४७३२ | १४३०८९४ | ४०५४ |
वित्तीय व्यवस्था | १७२७८७३ | १४६८६०० | १४७२५०२ | ७३१५०५ | ४२.३४ |
कुल | १४७४६४५४ | १३४४६८०० | १२६६२६४६ | ९१६८५४० | ६२.१७ |
पछिल्लो ५ वर्षमा असार महिनामा कति प्रतिशत पुँजीगत खर्च भयो ?
२०७२/७३ : ४९ प्रतिशत
२०७३/७४ : ४१ प्रतिशत
२०७४/७५ : ३९ प्रतिशत
२०७५/७६ : ३६ प्रतिशत
२०७६/७७ : ३४.३३ प्रतिशत
औसत : ३९.८४ प्रतिशत