नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकलाई उचित दिशा दिन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छन् । लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा बिहीबार बुटवलमा गरिएको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कांग्रेस कमजोर हुँदा देश कमजोर भएको जिकिर गर्दै उनले अहिलेको राजनीतिक संकट समाधान कांग्रेसकै नेतृत्वमा मात्र सम्भव भएको बताइन् । ‘सहमति, सहकार्य र एकताबाट मात्रै मुलुकलाई सही दिशा दिन सकिन्छ,’ कोइरालाले भनिन्, ‘र, त्यसका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’ कम्युनिस्ट पार्टीहरूमा सहमति, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाउने एजेन्डा र नेतृत्व नभएको उनको भनाइ थियो ।
कम्युनिस्ट सर्वसत्तावाद र अधिनायकवादविरुद्ध लड्न कांग्रेसभित्र पनि सहमति र एकता आवश्यक रहेको भन्दै उनले अन्तर्राष्ट्रिय शक्तिहरूको पछि नलागी आफ्नै मौलिकतामा अघि बढ्नुपर्ने बताइन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आजीवन प्रजातन्त्र, शान्ति र विकासका लागि लडेको चर्चा गर्दै उनले मुलुकको हितका लागि गिरिजाबाबुजस्तै निडर र दूरदर्शिता देखाउन नेतृत्वलाई आग्रह गरिन् ।
जिपी कोइराला फाउन्डेसन रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्वसभापति रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी, प्रदेश सांसद रमा अर्याल, पुष्पा चौधरी, बुटवल नगर सभापति खेलराज पाण्डे, फाउन्डेसनका रुपन्देही संयोजक चिरञ्जीवी पौडेललगायतले गिरिजाबाबुले नेपालको प्रजातान्त्रिक आन्दोलन, शान्ति स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनामा खेलेको भूमिकाको चर्चा गरेका थिए ।