रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु ! घटना दुई सातापछि सार्वजनिक !

उज्यालो खबर मुख्य खबर

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ । २९ कात्तिक (तिहारको भाइटीकाको दिन)मा मृत्यु भएकोमा दुई सातापछि घटना सार्वजनिक भएको हो । 

मृत्यु भएको दुई सातापछि रुसी सेनाको हवाला दिँदै मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत परिवारजनलाई जानकारी दिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागलाई भने ८ मंसिरमै चिठी पठाएर जानकारी गराएको थियो । दूतावासका द्वितीय सचिव सुशील घिमिरेले विभागमा पठाएको विवरणमा स्याङ्जाको पुतलीबजार नगरपालिका– ५ ठूलास्वाँराका पीतम कार्की (पासपोर्ट नम्बर बिएओ १५०३२०), दोलखाको मेलुङ गाउँपालिका– ६ सुनारपानीटोलका राजकुमार रोका (पासपोर्ट नम्बर बिएओ २५४३०१) र इलामको इलाम नगरपालिका– ५ का गंगाराज मोक्तान (पासपोर्ट नम्बर ०९२००७५१) को मृत्यु भएको उल्लेख छ । कार्की विगतमा नेपाली सेनामा र रोका सशस्त्र प्रहरीमा कार्यरत रहेको परिवारजनले परराष्ट्र मन्त्रालयमा जानकारी दिएका छन् । नेपाली दूतावासले उनीहरूको मृत्यु कुन अवस्थामा भएको भन्ने खुलाएको छैन । 

१२ फागुन ०७८ मा रुसले युक्रेनमाथि हमला गरेपछि द्वन्द्व जारी रहेकै बखत गत १६ साउनमा परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आफ्ना नागरिकलाई आह्वान गरेको थियो । त्यसको चार महिनामै नेपालीको मृत्युको खबर आएको छ । रुसी सेनाले टेलिग्राममार्फत तीनजना नेपालीको मेडिकल डेथ सर्टिफिकेट उपलब्ध गराएको दूतावासको चिठीमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *