कामको खोजीमा एक महिनामा ६१ हजार युवा विदेशिए !

उज्यालो खबर मुख्य खबर

फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्। 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। 

नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले मलेसियाका लागि लिएका छन्। कतारका लागि ११ हजार तीन सय तीन जनाले श्रम स्वीकृति लिएका छन्। 

त्यस्तै युएईका लागि नौ हजार सात सय ९५, साउदीका लागि नौ हजार पाँच सय तीन जनाले श्रम स्वीकृति लिएका छन्। 
 कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय र २७ रोमानियाँ एक हजार ७० जनाले श्रम स्वीकृति लिएका छन्। 

फागुनमा फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्। 

गत माघमा ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका थिए। माघमा पनि युवाहरूको रोजाइमा मलेसिया परेको थियो। मलेसियाका लागि १६ हजार ६६३ जनाले श्रम स्वीकृति लिएका थिए।

वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान सरकारले हटाएको छ।अब वैदेशिक रोजगारको करार अवधि सम्बन्धित गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति तथा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताका आधारमा तय हुने भएको हो। 

यसअघि सरकारले जिटुजी प्रक्रिया मार्फत् गएका बाहेकलाई दुई वर्षको मात्रै श्रम स्वीकृति दिँदै आएको थियो। त्यो अवधिभन्दा बढी गन्तव्य मुलुकमा रहे नेपाल सरकारले ती श्रमिकलाई अवैध मान्ने गरेको थियो। 

जसले गर्दा विभिन्न सेवासुविधाबाट समेत ठूलो संख्यामा श्रमिकहरू बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको थियो। यहि अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्ती स्तरीय निर्णयबाट सम्झौता पत्रमा तोकिएको अवधिकै श्रम स्वीकृति दिने भएको हो। 
गन्तव्य मुलुक स्थित नेपाली नियोगहरूबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *