सर्लाही । सर्लाहीका मिटरब्याज पीडित किसान तथा मजदुरहरु फेरि आन्दोलित भएका छन् । मिटरब्याज पीडित किसान तथा मजदुर संघर्ष समिति सर्लाहीले पीडक साहु–महाजनविरुद्ध चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका हुन् ।
करिब ४ वर्ष पहिला सर्लाहीबाट संघर्ष समिति गठन गरेर आन्दोलन गरेको र काठमाडौँमा समेत आन्दोलन गर्दा पनि समस्या समाधान नभएको भन्दै पुनः आन्दोलन सुरु गरेका हुन् । तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजीहरु विरुद्ध ठगी मुद्दा चलाउने भनेपछि केही मानिस नियन्त्रणमा परेका छन् । तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजी विरुद्ध लाग्ने बताए पनि कुनै ऐन,कानून बनाउनेतर्फ नलागेको पीडितको गुनासो छ ।
मिटर ब्याज पीडित किसान तथा मजदुर संघर्ष समिति सर्लाहीले पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको सुरु गरेको छ । मिटरब्याजीहरुलाई कारबाहीको माग गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरबाट सुरु भएको संघर्ष समितिको आन्दोलन सरकारले आफुहरुको माग पुरान गर्दा सम्म जारी रहने आन्दोलनरत मिटर ब्याज पीडित किसान तथा मजदुर संघर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मिणी चौधरीले बताइन् ।
साहु महाजनले लिएको ऋणको दोब्बर तेब्बरको कागज गराउने,घरजग्गा तमसुक गराउने र लिएको ऋणको साँवा व्याज तिरि सक्दा पनि ऋण लिएको समयमा गरिएको कागजात नच्यात्ने र चेक तथा घरजग्गाको तमसुक समेत फिर्ता नगरेका कारण आफुहरु आन्दोलित हुनु परेको मिटर ब्याज पीडितले बताए ।
मिटरब्याजका कारण किसानहरु मारमा परेका छन् भने खेती किसानी गरेर जीविका चलाउनेहरुको गाँसवास खोसिएको छ । यसैकारण आफुहरु आन्दोलनमा उत्रिएको मिटर ब्याज पीडित किसान तथा मजदुर संघर्ष समितिले जनाएको छ । सरकारले आफुहरुको माग पुरा नगर्दासम्म आन्दोलन जारी रहने राख्ने समितिको भनाइ छ ।
विगत करिब ४ वर्ष भई सक्दा पनि सरकारले मिटरव्याज पीडितहरुको आवाज नसुनेको हरिवन नगरपालिका– २ का मिटर व्याजपीडित राम पुकार महतोले बताए । उनले आफुहरुले काठमाडौँमा समेत पुगेर मिटर ब्याजीहरुका विरुद्ध संघ सरकारलाई जानकारी गराएको भए पनि सरकारले मिटर व्याजीहरुका विषयमा कानुन नबनाएका कारण समस्या समाधान हुन नसकेको बताए ।
मिटरब्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरब्याजीहरुलाई कार्वाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको, बरु मिटरब्याजीहरु शानका साथ हिडिरहेको पीडितहरु बताउँछन् । सरकारले पीडकहरुलाई पक्राउ गर्न नसकेको भन्दै आफूहरुले धर्ना लगायतका कार्यक्रम गरेको उनीहरु बताउँछन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले मिटरव्याजीहरुका कारण धेरैको विचल्ली हुने अवस्था आएको भन्दै उनीहरुलाई कार्वाही गर्न कार्यदल नै गठन गरेको थियो । त्यसपछि गृह मन्त्रालयले गत साउन २८ गते शनिवार एक सूचना जारी गर्दै भदौ ५ गतेसम्म मिटरब्याजी विरुद्ध उजुरी दिन पीडितलाई अनुरोध समेत गरेको थियो । जस अनुसार सर्लाहीमा करिब ८०० जना पीडितहरुले मिटरव्याजी साहु महाजनविरुद्ध उजुरी दिएका थिए । अहिले पनि उजुरी दिनेक्रम जारी रहेको संघर्ष समितिले जनाएको छ ।
तर ती उजुरीमाथि अहिलेसम्म कुनै किसिमको कारबाही नभएको संघर्ष समितिले बताएको छ । सर्लाहीमा श्यामकुष्ण साह (श्याम परदेशी), रामबाबु राय, संजय रौनियार, रामस्वरुप राय लगायतका मिटरव्याजीहरुका कारण करिब १ हजार जना सोझा मानिसहरु ठगी र शोषणमा परेका छन् । जिल्लामा अहिलेसम्म मिटरब्याजीहरु विरुद्ध अदालतमा करिब ८०० वटा मुद्दा दर्ता भएका छन् । तर पनि उनीहरुलाई कुनै कारबाही भएको छैन ।