बैंकको किस्ता तिर्न नसक्दा एक व्यापारिले गरे आत्महत्या ?

उज्यालो खबर मुख्य खबर

आर्थिक भार खेप्न नसकेपछि विराटनगरका एक व्यवसायीले आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका–३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।

उनलाई चिन्ने व्यापारीहरुका अनुसार न्यौपाने आर्थिक समस्याले तनावमा थिए। मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्षसमेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पेजको सुसाइड नोट भेटिएको छ, जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको उल्लेख छ।

बुबाआमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाँच्न लायक नभएको उल्लेख गरेका छन्। सुसाइड नोटअनुसार उनले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नोटमा उल्लेख छ । त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेछ।

दुई दिन अघिमात्रै इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । भोलिपल्ट अस्पतालमा उनको मृत्यु भएको छ। आचार्यले भने आफ्नो फेसबुकमा सुसाइड नोट लेखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *