रामु ओली, नेपालगन्ज : स्थानीय चुनाव नजिकिदै गर्दा राजनैतिक दलहरु आफ्नो उमेदवार चयन र सम्भावनाको बारेमा छलफल र लागि परेका छन् ।
गएको स्थानीय चुनावमा बाँकेमा रहेको ८ वटा स्थानीय तहमा खजुरा गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका गरेर ४ वटा स्थानीय तह एमालेले जितेको थियो । त्यसबेला नेकपा एमालेबाट माधव नेपालले बिद्रोह गरेका थिएनन् ।
यता नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको थियो । त्यस्तै राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिमा पनि नेपाली कांग्रेसले नै जितेको थियो भने नरैनापुर गाउँपालिका जनता समाजबादी पार्टिको पोल्टामा थियो ।
स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तहको चुनावमा प्रमुखमा को को दोहोरिने सम्भावनामा छन् धेरैलाई चासोको बिषय हुनसक्छ । सबै पार्टीले आफ्ना स्थानीय तहको उमेदवार घोषणा नगरे पनि एक किसिमको अडकलबाजी बजारमा सुरु भैसकेको छ ।
उता नेकपा एमालेको अध्यक्ष समेत रहेका खजुरा गाउँपालिकाको अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्ना निकटतमलाई आफू पालिका अध्यक्षको रेसमा नरहेको बताउदै आएका छन् भने खजुराको प्रमुखमा उनी बाहेक एमालेबाट ४ जना सम्भावित उमेदवार चर्चामा रहेका छन् ।
बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका एमालेबाट जितेका बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचाल र कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत भने मौका पाएसम्म पुनः दोहोरिने मनसायमा रहेको र त्यसका लागी पार्टीमा कसरत सुरु गरेको बताइन्छ ।
उता एमालेबाट नै जितेका जानकी गाउँपालिकाको प्रमुख स्व. राम निवास यादवको निधन पछि प्रमुखको जिम्मा उपप्रमुख भुमिसरा धिताललाई गयो तर एमाले बाँके यतिबेला स्व. यादवको छोरा हिमान्सु यादवलाई प्रमुखको उमेदवार बनाउन कसरतमा छ । यादव भने अझै एकीकृत समाजबादी वा एमाले कहाँबाट प्रमुखको चुनाव लड्छन खुलाएका छैनन् । बाँकेमा स्व. राम निवास यादवको छोरा हिमान्सु यादव एमाले वा एकीकृत समजाबादी मध्य एक पार्टीबाट चुनावी मैदानमा होमिने बताइन्छ ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल समशेर राणाले सार्वजनिक कार्यक्रममै पटक पटक आफु अब स्थानीय तहको निर्वाचनमा नलड्ने घोषणा गरिसकेका छन् । उनी संघको तयारिमा रहेका छन् ।
उता नेपाली कांग्रेसबाट राप्ती सोनारी गाउँपालिकाको प्रमुखमा जितेका लाहुराम थारु फेरि पनि प्रमुखमा दोहरिने बताइदै आएको छ । उनले स्थानिय चुनावको टिकट पक्का गरिसकेको समेत बताइन्छ ।
त्यस्तै कांग्रेसले नै जितेको डुडुवा गाउँपालिकामा हालको लागी पनि कांग्रेसको बलियो उमेदवार नरेन्द्र चौधरी नै मानिन्छ जसका कारण कांग्रेसको दोहोरिने उमेदवारको रुपमा उनलाई पनि हेरिएको छ ।
बाँकेको बिकट मानिने नरैनापुर गाउँपालिकामा जनता समाजबादी पार्टीले जित निकालेको थियो । जसपाबाट मोहम्मद इस्तियाक राईले प्रमुखमा बाजि मारेका थिए भने फेरि पनि जसपाबाट उनै प्रमुखको रुपमा लगभग पक्का भएका छन् ।
के छ गठबन्धनको अवस्था र कस्को भागमा कुन पालिका ?
स्थानीय तहको चुनावमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेर चुनावी मैदानमा जाने घोषणा गरे संगै स्थानीय तहको चुनाव नेकपा एमालेको लागी सहज छैन । बाँकेको हकमा समेत स्थानीय तहको निर्वाचनमा आफ्नो ४ वटा स्थानीय तह जोगाउन हम्मेहम्मे परेको छ ।
बाँकेमा गठबन्धनको अवस्थामा सत्ता साझेदार दलहरुको भागमा कुन पालिका पर्छ त्यो अनुमान मात्रै गर्न सकिन्छ तर सत्ता साझेदार दलहरुले जितेको स्थानीय तहमा दाबेदारी गरिसकेका छन्, यस्तो अवस्थामा डुडुवागाउँलालिका, नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरमा जसपाले दाबी गरेको छ भने कांग्रेसले पनि नेपालगन्ज उपमहानगरपालिका सहित कोहलपुर र राप्तीसोनारी र डुडुवामा दाबेदारी गरि गरिसकेको छ ।
त्यस्तै नेकपा माओवादीले खजुरा गाउँपालिका र कोहलपुरमा दाबेदारी स्रोतले बताएका छन् यस्तोमा नेकपा एकीकृत समाजबादीको भागमा जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा दाबी रहने आकलन गरिएको छ ।
यस्तो अवस्थामा सत्ता साझेदार दलमा केही पालिकामा राम्रै बिबाद हुने र गठबन्धनमा चुनावी तालमेल हुन नसक्ने बताइन्छ । जसमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँ पालिकामा जसपा र नेपाली कांग्रेस दुबैको उत्तिकै दाबेदारी रहने र कोहलपुरमा माओवादी र कांग्रेसको बराबर दाबेदारी रहने बताइदै आएको छ ।
यो खबर नागरिक समाज मा छ ।