धनुषामा नागरिकता विधेयकको माग गर्दै आन्दोलन सुरु

उज्यालो खबर मुख्य खबर

ढल्केवर(धनुषा): नागरिकता माग गर्दै राजमार्ग केन्द्रीत आन्दोलन सुरु भएको छ। नागरिकताविहीन संर्घष समिति नेपालको पूर्व निर्धारित कार्यक्रमअनुसार नागरिकताविहीन समूहले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका हुन्।

जन्मसिद्ध नागरिकका सन्तालाई बंशजको आधारमा नागरिकता दिनुपर्ने माग गदै उनीहरुले सात दिने आन्दोलन सुरु गरेको हो। शनिबार आन्दोलको पहिलो दिन नागरिकताविही संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजित साफीको नेतृत्वमा नागरिकता माग्दै सडकमा र्‍याली निकालेर प्रदर्शनमा उत्रिएका थिए।  

उनीहरुले ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग पूर्णरुपले अवरुद्ध पारेका थिए। प्रदर्शनमा सहभागीहरुले संविधानको धारा लागू गर, संघीय संसद मूर्दावाद, संघीय व्यवस्था खारेज गर- होइन भने नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइँदैन, जन्मसिद्ध नागरिकका सन्तालाई बंशजको आधारमा नागरिकता दे लगायतका नाराहरु उल्लेखित प्लेकार्ड बोकेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

जन्मसिद्ध नागरिकका सन्तालाई बंशजको आधारमा नागरिकता दिनुपर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दबाबमूलक सात दिने आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका मिथिला नगरपालिकाका नगर अध्यक्ष कर्मवीर महतोले बताए। नागरिकताको माग गर्दै पटक-पटक तीनै तहको सरकारलाई ज्ञापन पत्र बुझाए पनि कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ।

संयोजक इन्द्रजित साफीले संविधान जारी भएको पाँच वर्ष वितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं-लाखौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको उल्लेख गरे। नागरिकता प्राप्तिको लागि सुरु भएको राजमार्ग केन्द्रीत आन्दोलन २७ गतेसम्म निरन्तर चल्ने उनले बताए। 

‘आजबाट आन्दोलन सुरुवातमात्रै भएको हो। यो आन्दोलन २७ गतेसम्म निरन्तर चल्नेछ। सरकारलाई दबाब दिन हामी दैनिक दुईघण्टा राजमार्ग अवरुद्ध पार्छौ,’ संयोजक साफीले भने। 

साभार अन्नपुर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *