एमसीसी पास गर्न प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार भेटवार्ता

उज्यालो खबर मुख्य खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुईबीचको भेटवार्तामा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र संसद् अवरुद्धबारे कुराकानी भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए।

भेटमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत दलले एमसीसी पारित गर्न असहयोग गरेको बताएका थिए । साथै, प्रधानमन्त्री देउवाले संसद्बाट एमसीसी पारित गर्न एमालेको सहयोग मागेको पनि नेता रिजालले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवटारमा भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो ।

जवाफमा अध्यक्ष ओलीले एमाले छाडेर गएका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेमा सहयोग गर्न सकिने संकेत देखाएका छन् । ओलीको भनाइ उद्धृत गर्दै रिजालले उनले भने, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’

भेटवार्तामा अध्यक्ष ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *