मन्त्री साहबाटै मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

उज्यालो खबर मुख्य खबर

कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी गरिएकाे छ । 

तर,मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर कोरोना मापदण्डको खुलेआम धज्जी उडाएका छन ।

१३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट निवासी  रोमन साहसँग हुँदै छ । तर मन्त्री साहले पाँच हजारभन्दा बढी कार्ड वितरण गरेर भोजमा सहभागी हुन निमन्त्रणा गरेका छन् । साहले शुभचिन्तकहरूलाई मंगलबारकाे प्रीतिभोज र बुधबार हुने पूजा एवं मटकाको अवसरमा जसरी पनि पार्टीमा सहभागी हुन आग्रह गरेका छन् । 

सरकारको नेतृत्वमा मन्त्रीजस्तो पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नै नगरी मन्त्री साहले स्वयं कोरोना मापदण्ड र आचारसंहिताको खिल्ली उडाउँदा निक्कै आलोचना भएको छ ।

मंगलबार बिहान १० बजेदेखि मन्त्री साहले दिएको भोजमा झन्डै २५ सयभन्दा बढी मानिस गौशाला नगरपालिकाको फुल्कास्थित उनकाे निवासमा सहभागी भएका थिए  । `हामी जाँदा निक्कै भिड थियो, मानिसहरूले कुनै मापदण्डको ख्याल गरेका थिएनन्,´ भोजबाट फर्किएका एकजना सहभागीले भने ।

आफै नियम कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेका मन्त्री साहको उनकै पार्टी माओवादी केन्द्रमा समेत आलोचना भएको छ । आचारसंहिताविपरीत मन्त्री जस्तो व्यक्तिले खिल्ली उडाउँदा लोकतन्त्र र संविधानकै विषयमा अनेकौ प्रश्नचिन्ह खडा भएको नेताहरूले विश्लेषण गरेका छन् ।

कुनै पनि माहामारीको समयमा सरकारले निर्धारण गरेको मापदण्डविपरीत कसैले अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमाेजिम कडा कारबाही हुने प्रावधान छ । तर मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।

यस विषयमा कुराकानी गर्न गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसग सम्पर्क गर्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन ।

मन्त्रीले कोरोनाको जोखिमबाट बच्न सर्वसाधारणलाई सचेत गराउनुको सट्टा हजारौ भिड जम्मा गरेर रोग फैलाउन सहयोग गरिरहेकोसमेत आरोप उनीमाथि छ । काेराेना बढेसँगै अहिले जिल्लामा भिडभाड हुने ठाउँहरूमा  चलपहल कम भएको छ । मन्त्री साहकाे पालिकामा अझै ४५ प्रतिशत सर्वसाधारण खोप लगाउनबाट वञ्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *