केही समयअघि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए उत्तीर्ण हुने भनेर निर्देशिका जारी गर्यो।
विभागले सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका-२०७७ जारी गरेर गत जेठ १ गतेदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको थियो। तर कोभिड महामारीका कारण जेठदेखि लागू हुन सकेन। त्यसपछि मंसिरदेखि लागू हुने विभागले बताएको थियो।
उक्त व्यवस्था मंसिर १६ गतेदेखि कार्यान्वयन गर्न केन्द्र सरकारले प्रदेशलाई पत्राचार गरिसकेको छ। तर पनि यो व्यवस्था लागू हुन सकेको छैन। ट्रायल उत्तीर्ण हुन शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाअनुसार नै कार्यालयहरूले परीक्षा सञ्चालन गरिरहेका छन्। लिखित परीक्षा पनि पुरानै प्रणालीअनुसार भइरहेको छ।
पछिल्लो समय यातायात क्षेत्रमा (खास गरी चालक अनुमति पत्रमा) संघ र प्रदेशबीच अन्यौलता देखिएको छ। संघको निर्णय एकथरी र प्रदेशको काम अर्कै किसिमको भइरहेको छ।
दुई संयन्त्रबीच समन्वय हुन नसक्दा ट्रायलमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता नवीनकुमार सिंह बताउँछन्। यो खार सेतोपाटी म छ ।