आइतबार राति मोरङको बूढीगंगा गाउँपालिका-६ को कायलपुरस्थित एउटा घरमा जन्मदिनको पार्टी चलिरहेको थियो। त्यहीक्रममा युवाबीच सुरू भएको तनाव ‘ग्याङ फाइट’मा परिणत हुँदा एक जनाको हत्या भएको छ।
घटनामा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो।
मृतक दाहाल सुनसरीको खनारस्थित रिलायन्स धागो उद्योगमा काम गर्थे। उनी इटहरी १३ खनारमा नै डेरा गरेर बस्दै आएका थिए।
मृतक दाहाल आफ्ना साथी बूढीगंगा ६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन उनको घर पुगेका थिए।
बर्थ डेको पार्टी चलिरहँदा मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद सुरू भएको थियो। त्यही विवाद खुकुरी हानाहानमा परिणत भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार बूढीगंगा ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको विवाद भएको थियो।
विवाद बढ्दै गएपछि रिजनलाई नजिकैको बारीमा लगेर उनीहरूले आक्रमण गरेका थिए। उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ।
टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ।
झगडा छुट्याउन गएका नानु लिम्बू र कमल थापा पनि घाइते भएका छन्।
हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका थिए। दुवै जना धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
शनिबार राति रिजन र बूढीगंगा ६ डल्लेपुरका धनबहादुर तामाङको झगडा भएको थियो।
झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड हानेका थिए। त्यही झापड हानेको रिस फेर्न रिजन बर्थडेमा आएको मौका छोपेर आक्रमण भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।
प्रहरीका अनुसार अघिल्लो दिन रिजन र धनबहादुरको झगडा भएपछि स्थानीय नवीन लिम्बूको घरमा पुगेर रिजनले माफी पनि मागेका थिए। माफी मागेपछि मिलेर गएका थिए।
‘तर, झापड हानेको इख धनबहादुरले लिइरहेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘त्यही झापड हानेको रिस फेर्न रिजनको हत्या हुन पुग्यो।’
घटनापछि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ।
बूढीगंगा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ देव्रेबास घर भई इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरीमा राखेर प्रहरीले अनुसन्धान सुरू गरेको छ।