रोल्पामा रवि छिरेपछि तरंग, रोल्पालीले अब कस्तो विद्रोह गर्लान् ?

उज्यालो खबर मुख्य खबर

काठमाडौँ । माओवादी सशस्त्र युद्धको उद्गम थलो मानिन्छ रोल्पा । माओवादी युद्धकै क्रममा ७ सय ५३ जना रोल्पालीले रगत बगाए । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादीका दर्जनौं रोल्पाली नेताहरु सिंहदरबार छिरे । पहिलो संविधानसभा निर्वाचनमा रोल्पाबाटै जितेका माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन तीन पटक नेपालको प्रधानमन्त्री बने । तर पनि रोल्पाको मुहार फेरिएको छैन । पञ्चायतदेखि नै सशक्त विद्रोह गर्दै आएका रोल्पालीले अब कस्तो विद्रोह गर्लान् ?

गएको असोज ३ गते संविधान दिवसको उत्सव मनाइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माओवादी सशस्त्र युद्धको उद्गम थलो रोल्पामा थिए । पार्टीको दस्तावेज निर्माणका लागि गाउँ गाउँ गएर सुझाव संकलन गर्ने निर्णय अनुसार नै लामिछाने रोल्पा पुगेका थिए । रोल्पाको सदरमुकाम लिवाङमा भब्य कार्यक्रम नै गरी उनी रोल्पाको माओवादी आधार इलाका थवाङमै पुगे । माओवादी युद्धको उद्गम थालो रोल्पाको थवाङ पुगेर लामिछानेले माओवादीले बाँडेको सपना पूरा नभएको भन्दै चिन्ता ब्यक्त मात्रै गरेनन्, आफूले मल्हम लगाउने प्रतिवद्धता जनाए ।

पत्रकारिता क्षेत्र छाडेर २०७९ सालको आम निर्वाचनको ६ महिनाअघि मात्रै पार्टी घोषणा गरी राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले पहिलो निर्वाचनमै अप्रत्याशित जित हासिल गरे । उनको पार्टीले पहिलो निर्वाचनबाटै प्रतिनिधिसभामा २० सिटको प्रतिनिधित्व गरायो । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनपछि भएको उपनिर्वाचनबाट रास्वपाले अरु एक सिट बढायो । रवि लामिछानेप्रतिको आकर्षणकाबीच ठूला राजनीतिक दलहरुको गठबन्धनको केही चलेन । उनै लामिछाने पञ्चायतकालदेखि कम्युनिस्ट पार्टीको पक्षमा रहने गरेका रोल्पालीको आवाज सुन्न भई माओवादी युद्धको इपि सेन्टर रोल्पाको गाउँगाउँ पुगे । लामिछानेप्रतिको आकर्षण भीँडले मात्र होइन, चुनावले समेत पुष्टी गरेको छ । अहिले पनि काठमाडौंदेखि रोल्पासम्म नै उनीप्रतिको आकर्षण उस्तै छ । त्यसैले रोल्पालीहरु पनि आफ्नो पीडा सम्झिएर रविसँग भक्कानिएका छन् ।

३६ सालमा सबै मत बहुदललाई खसालेका थवाङीले ३८ सालमा मतपेटिका रित्तै फर्काइदिएका थिए । ५१ को निर्वाचनमा मात्र ४ मत खसालेको थवाङले ५६ सालको निर्वाचनमा मत बहिष्कार गरेका थिए । २०६४ सालमा भएको पहिलो संविधासभा निर्वाचनमा ३ मत बाहेक थवाङको सबै मत माओवादीलाई खस्यो । दोस्रो संविधानसभा निर्वाचनमा मत बहिष्कार गरिदिएर थवाङले विद्रोहकै बाटो लियो । सधैं विद्रोही चेत बोकेको रोल्पामा लामिछानेको प्रवेश हुने भएपछि विप्लव नेतृत्वको नेकपाबाट रोक्ने प्रयास असफल भएको खुलासा भएको छ ।

नेकपाका नेताहरुको रविलाई रोल्पा छिर्नै नदिने प्रयास असफल मात्र भएन, रोल्पालीहरुले आफूको अबको भरोसा रवि नै भएको संकेत गरिदिएका छन् । त्यसैले माओवादी युद्ध हुँदै शान्ति प्रक्रियामा आएर पटक पटक सत्ताको बागडोर समातेर पनि रोल्पातिर फर्केर नहेरेपछि आगामी निर्वाचनमा कस्तो किसिमको बिद्रोह गर्नेछन्, सबैको चासोको विषय बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *