विराटनगर । केही दिनदेखि आएको वर्षाका कारण विराटनगर भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी वस्तीमा पस्दा दर्जनौँ घर डुबानमा परेका छन् ।
लगातार वर्षा हुँदा सिंघिया खोला किनारमा रहेका विराटनगर वडा नंम्बर १, २ र ८ का सुकुम्बासीहरुको घरमा पानी पसेर डुबान भएको थियो । केही दिनअघिको बाढीका कारण ४ घरपरिवार डुबानमा परेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तर अहिले वर्षा भए पनि पानीको लेबल बढेको र डुबान भने खासै नभएको मोरङ प्रहरीले जनाएको छ ।
सिंघिया खोला किनारमा घर बनाएर बसेका सुकुम्बासीहरु भने घर र सामान ओसारेर अन्यन्त्रै डेरा सर्न थालेका छन् । सिंघिया खोलाका कारण करिव १ सय परिवार डुबानमा परेका छन् ।
केही परिवारले आफै डेरा गरेर अन्यत्र सरेका छन् भने केही परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षमा २ महिना पानीले डुबान हुने भएकाले अन्यन्त्रै डेरा सरेको डुबानमा परेका स्थानीय मनोजकुमार महतोले बताए ।
विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरुमा पनि पानी पसेर जलमग्न भएका छन् । दिउँसोदेखि पानी रोकिएका कारण खासै उद्धार गर्नु नपरेको र उद्धारको लागि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
मोरङका कटहरि र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरूमा डुबानमा भएको छ । अन्य पालिकाहरुमा पनि सामान्य डुबान भएको र मानविय क्षति भने नभएको मोरङ प्रहरीले जनाएको छ ।