नेपालमा खोप अभियान सुरु, भोली नेपालगंज मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने

मुख्य खबर स्वास्थका कुरा

१४ माघ, नेपालगंज / नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षपछि खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भर्चुअल माध्यमबाट खोप अभियान शुभारम्भ गर्नुभएको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोप यथाशीघ्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालमा सुरु भएको खोप अभियान कोरोना महामारीविरुद्ध लड्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले खोप नाफा कमाउने माध्यम बनाउन नहुने बताउँदै महामारी नियन्त्रण विश्वकै चुनौती रहेको उल्लेख गर्नुभयो ।

पहिलो चरणमा करिब चारलाख तीस हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारले गरेको छ, जसमा खोपको पहिलो मात्रा करिब सात देखि दश दिनमा दिइसक्ने लक्ष्य सरकारको छ । पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ । पहिलो चरणका लागि आएको जम्मा दशलाख खोप मध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि खोप छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था पनि सरकारले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । साथै खोप लगाउने व्यक्तिलाई परिचय पत्र दिने व्यवस्था गरिएको छ। त्यही परिचय पत्रको आधारमा मन्त्रालयले खोपको दोस्रो मात्रा सम्बन्धित व्यक्तिलाई दिने छ ।

यसैक्रममा स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगञ्जलाई कोरोना खोप हस्तान्तरण गरेपछि बाँकेमा पनि आज देखि कोरोना विरुद्ध खोप लगाउन शुरु गरिएको छ । भोली नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *