तेस्रो जनआन्दोलन सुरु भयो:पत्रकार वाग्ले
१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।
प्रहरी प्रमुख अशोक सिंहको भनाई अनुसार नागरिक समाजको विरोध र्याली सकिने क्रममा बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सिंहले बताएका छन् ।

लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएको बताइएको छ ।
घाइतेमध्ये निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र संघर्ष र स्वर्णिमलाई मोडल अस्पतालमा उपचारका लागि लगिएको छ ।
(तस्वीरहरु : एजेन्सीबाट)