काठमाडौं- नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा तीन जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।

उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए।
नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुस महिनामा बेलायतबाट नेपाल आएका थिए।
डा गौतमका अनुसार बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ थियो। उनीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै गत पुस २७ गते उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो ।
६ जनाको नमूना हङकङमा परीक्षा गर्दा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको हो ।
नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था भने सामान्य भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भैसकेको र ६७ वर्षीया पुरुषमा कोरोना पोजेटिभ भएपनि कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ भेरियन्ट कति खतरा ?
यो भाइरस (बी.१.१.७) लाई यसअघिको कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको ‘इम्प्लिकेसन्स अफ इमर्जिङ सार्स कोभिड–टू भेरियन्ट’ नामक अध्ययनमा भाइरसको संरचनामा परिवर्तन (म्युटेसन) भएसँगै छिटो फैलिन सक्ने पाइएको हो । तर हालसम्म यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा प्रमाणित भइसकेको छैन ।