कम्दीमा प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता सुरु !

उज्यालो खबर मुख्य खबर

फागुन १९ गते, नेपालगञ्ज ।
बाँकेको कम्दीमा दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता डुडुवा गाउँपालिका वडा न.५ स्थित कम्दिको श्री शहिद स्मारक माबिको प्रांगणमा सुरु भएको छ ।बाँके कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले खेल क्षेत्रले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन पनि मद्दत पुर्याउने भएकाले पालिका यस्ता गतिबिधिका लागि गम्भीर रहेको बताउनुभएको थियो । उद्घाटन कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष झंक बहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष सगिर खाँ, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख बिष्णु शाही, जुडोका संस्थापक नोम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेशका चार जिल्लाको खेलाडीहरुको सहभागिता रहेको कम्दी जुडो डोजोका अध्यक्ष एव प्रशिक्षक पदम बहादुर बुढाथोकीले बताउनुभयो ।

प्रतियोगितामा महिला पुरुषतर्फ ६-६ बिद्यामा प्रतिस्पर्धा हुँदैछ । शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दांङ, कपिलबस्तु र बाँकेको खजुरा, नेपालगञ्जका बिभिन्न स्थानमा रहेका एक सय ३० जना खेलाडीहरुको सहभागिता रहेको छ भने कार्यक्रम संचालन महेन्द्र शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *