काठमाडौँ । सामान्य ज्वरो र निमोनियाको लक्षण देखिएकी एक बालिकाको डाक्टरको लापरवाहीका कारण ज्यान गएको छ । बालिका प्रशंसा गौतमका बुवा गौरव दर्पण ले सामाजिक सञ्जालमा मृतक बालिकाको तस्वीर राख्दै डाक्टरले देखाएको व्यवहारको बेलिविस्तार सहित विज्ञप्ती जारी गरेका छन् ।
बालिकाका बुवा दर्पणका अनुसार कमलपोखरीमा रहेको हिमाल हस्पिटलका डाक्टर जयदेव यादवको लापरवाहीका कारण सामान्य ज्वरो देखिएकी बालिकाको स्वास्थ्य अवस्था झन झन जटिल बन्दै गएको र अन्तमा मृत्यु भएको हो । बालिकाको अकालमा ज्यान गएपछि पीडित पक्षले बुधबार अस्पतालभित्रै नाराबाजीसहित धर्ना दिएका थिए ।
मोरङ स्थायी बासिन्दा दर्पणले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरवाहीको कारण मृत्यु भएको दाबी गरेका हुन् । उनीहरुले मंगलबार नै पत्रकार सम्मेलन गरेर क्षतिपूर्ति माग गरेका थिए । बुधबार धर्ना दिँदै पीडित पक्षले बालिकाको ज्यानमाथि खेलबाड गर्ने डाक्टर यादवलाई कारबाहीको माग गरेका छन् ।
यस घटनालाई साम्य पार्नका लागि अस्पतालले छानबिन तथा थप छलफल गर्ने आस्वासन दिएपछि धर्ना स्थगित गरिएको छ । अस्पतालले डाक्टरको लापरवाहीका कारण बालिकाको ज्यान गएको स्वीकार यसबारेमा मिडियाको रोहवरमा पीडित पक्षसँग छलफल गर्नका लागि सहमति गरेकाे छ, जसअनुसार यही फागुन १३ गते बैठक बोलाइएको छ ।