काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो ।
सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले छानबिन समितिको प्रतिवेदनको आधारमा आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गरेको बताए ।
उनले मत गणना कार्य शुरु गर्न सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई पत्र पनि पठाइसकिएको जानकारी दिए । उनले भने, ‘भर्खरै प्राप्त जानकारी अनुसार आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लाको प्रतिनिधि सभाको प्रदेश सभाको निर्वाचन क्षेत्रमा उजुरी परेको थियो । त्यो उजुरीको सम्बन्धमा पुनः मतदान गर्नु नपर्ने र गणनामा जानु पर्नेगरी निर्णय गरेको छ ।’
उनले थपे, ‘यस सम्बन्धमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई पत्र पनि पठाइसकेको छ । छानविन समिति गठन भएको थियो आयोगकै निर्णयले छानबिन समितिलाई १२ गतेसम्मको समय दिइएको थियो । १२ गते समितिले काम टुंग्याउन सकेन १३ गतेमात्रै प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनकै आधारमा आयोगले आज निर्णय गरेको छ ।’
उनले सम्बन्धित क्षेत्रहरुमा तत्काल सर्वदलिय बैठक बसेर मत गणना सुरु गर्ने मिति, समय र स्थान तोकेपछि मत गणना कार्य प्रारम्भ हुने बताए । यो खबर न्युज24 मा छ ।