बाजे-नाति साइनो केलाउँदै भोट माग्दैछन् सागर ढकाल !

उज्यालो खबर मुख्य खबर

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा उम्मेदवारी दिएर चर्चामा आएका युवा सागर ढकाल कहिले धर्मकर्म गरेर, कहिले उपवास बसेर, अनि कहिले स्वयं प्रतिद्वन्द्वी देउवाको स्वागत कार्यक्रममा लाइन लागेर चर्चा-विवादमा आइरहन्छन् । यसपालि भने उनले भोट माग्ने रमाइलो काइदा विकास गरेका छन् ।

‘तम्रा साथी देउवाले तमीलाई धोका दिया, तम्रा छोराले पनि तमीलाई धोका दिया । अब तम्रो नाति बाँकी छ । बाजे-नातिको सम्बन्ध मायाको सम्बन्ध,’ गुल्मीबाट चुनाव लड्न सुदूरपश्चिमको दुर्गम अजयमेरु गाउँपालिका ६ देवलका ७८ वर्षीय एक स्थानीयलाई उनले सम्झाउँदै भनेका छन् ।

प्रधानमन्त्री देउवाले ०४८ यता अविच्छिन्न जित्दै आएको क्षेत्रमा जनताको दुर्दशा के छ भन्नेबारे सागर उनीहरुकै भाषाशैलीमा सम्झाइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालयमा पढी केही अन्तर्राष्ट्रिय संस्थामा काम गरेर नेपाल आएका सागरले अपनाएको यो काइदाले गाउँलेहरुको मन छोइरहेको रहेछ ।

यो भिडियोमा ६ मिनेटजति छलफल गरेपछि ती वृद्ध स्थानीय उम्मेदवार सागरसँग आश्वस्त हुन खोजेको भाव आउँछ । प्रायः उम्मेदवारहरु घरदैलो नाम दिएर पनि गाडीबाट नओर्ली हुटमा उभिएर भाषण गरिराखेका खबर सार्वजनिक भइराख्दा सागरले निकालेको भोट माग्ने जुक्ति रमाइलो प्रतीत हुन्छ ।

अनलाइनखबरले सागरलाई सोध्यो, ‘कसरी सिक्नुभयो डोट्याली लवज ?’

‘म सम्पूर्ण रुपमा गाउँमा बस्छु । म डडेलधुरा आएको यत्रो महिना भइसक्यो, तर होटलमा १० दिन पनि बसेको छैन,’ उनले जवाफ दिए, ‘जनतासँग उनकै घरमा बसेपछि, उनकै मिठोमसिनो खाएपछि उनकै भाषामा बानी परिँदो रहेछ ।’

सागरले विकासमा डडेलधुरा पछि पर्नुको दोष देउवालाई दिँदै गाउँलेहरुले आफू किन कमजोर अवस्थामा बस्नुपरेको छ भन्नेबारे भिडियोमा बताइरहेका छन् । यो भिडियो सागरकै पेजबाट हामीले लिएका हौं, जहाँ उनी गाउँका ज्येष्ठ नागरिकहरुलाई आफ्ना मुद्दाहरु सम्झाइरहेका छन् ।

‘चुनावअघि जलाधार व्यवस्थापनका काम गरेको छ कि छैन, सिंचाइमा काम गरेको छ कि छैन, केही गरेको छैन भने तमी कैल्यै लाइसन् माग्या ? नेताको लाइसन् के हो भनेर तमीले सोध्या ?’ भिडियोमा उनी सोध्छन् ।

आफैं जवाफ दिन्छन्, ‘मेरो कुरा कसो हो कि, मैले पानी सिँचाइसम्बन्धी काम गरें । यस्ता युवाहरुलाई विचार गरिकन अब अघि बढाउन्या ।’

सागरका सहयोगी अमर नेपालीले बाहिरबाट डडेलधुरा पुगेको युवालाई स्थापित दलका उम्मेदवारभन्दा भिन्नै किसिमले मतदाताले व्यवहार गरिरहेको बताए ।

डडेलधुरामा देउवाविरुद्ध कांग्रेस बीपीका कर्णबहादुर मल्ल प्रतिष्पर्धामा छन्, जसलाई एमालेले साथ दिने घोषणा गरेको छ । सागरलाई भने राष्ट्रिय स्तरमा चर्चित कलाकार लगायतले नैतिक समर्थन गरेका छन् । उनी सुई चुनाव चिह्न लिएर प्रतिनिधिसभातर्फ प्रतिस्पर्धाको मैदानमा खडा छन् । यो खबर अनलाईन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *