पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सदैन : मन्त्री आले

उज्यालो खबर मुख्य खबर

काठमाडौँ, २६ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका छन् ।

आज (सोमबार) पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन् ।पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको मन्त्री आलेले बताए । नेपालीहरूले हामी नेपाली हौं भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने उनको भनाइ छ ।

मन्त्री आलेले भने, ‘नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले अन्याय मुलुकमा हुन नदिनु, ठूलो न्याय निसाव हेर्नु । न्याय निसाव बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरिलिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन्, जस्ता पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक छन् ।’

‘पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ,’ उनले थपे, ‘यदि हामीले आफूलाई नेपाली हौं भन्ने कुरामा गर्व गर्छौं भने पृथ्वीनारायण शाहलाई हामीले कहिल्यै बिर्सन सक्दैनौं र बिर्सनु पनि हुँदैन ।’

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *