पेनड्राइभमा ‘डकुमेन्ट’ लिन जाँदा बलात्कार प्रयास” प्रहरी कार्यालय धाउँदा पनि मुद्दा दर्ता भएन’

उज्यालो खबर मुख्य खबर

बारा — बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले मुद्दा दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।

गत मंसिर ९ मा पचरौता नगरपालिकाको सुनसान कार्यालयभित्रै ३२ वर्षीय कार्यालय सहायक सञ्जय पासवानले २२ वर्षीया महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबाहिर आउँदा र प्रहरीमा उजुरी पर्दासमेत आरोपित पक्राउ परेका छैनन् । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाए पनि मुद्दा दर्ता गरेको छैन । ‘घटना भएको दुई साता भइसक्दासमेत प्रहरीले मुद्दा दर्ता गरेन, छलफलका लागि ठाडो उजुरीमात्र लिएको छ,’ पीडित महिलाले भनिन्, ‘न नगर प्रमुखले चासो दिएका छन् न त प्रहरीले । त्यसैले न्यायका लागि मानवअधिकार आयोगमा निवेदन दिएकी छु ।’ घटना सामसुम पार्न जनप्रतिनिधिबाटै आर्थिक लेनदेनको प्रस्ताव आइरहेको पीडित महिलाले बताइन् । ‘घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले बिचौलियाका रूपमा आर्थिक लेनदेन गरी टुंगो लगाउन दबाब दिइरहेका छन्,’ ती महिलाले भनिन्, ‘मलाई न्याय चाहिएको छ ।’

पालिका कार्यालयनजिकै कोठा लिएर बस्दै आएकी ती महिला पालिकाको आफैं बस्ने कोठामा कम्प्युटरबाट पेन ड्राइभमा ‘डकुमेन्ट’ लिन जाँदा बलात्कार प्रयास भएको थियो । प्रहरी र नगर प्रमुखले छलफलका लागि मात्र बोलाउँदै आएको उनले बताइन् । नगर प्रमुख रमेश यादव घटना सामसुम गर्न लागेको उनको गुनासो छ । घटना भएदेखि पटक–पटक गरी दुई दिन छलफलका लागि बोलाए पनि आफैं सहभागी नभएर आफ्ना खास व्यक्तिहरूलाई परिचालन गरेको ती महिलाको भनाइ छ ।

नगर प्रमुख यादव भने सम्पर्कमा आउन चाहेनन् । प्रहरी उपरीक्षक दीपेन्द्रबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरे । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’यो खबर कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *