अछाम । नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावलले चुनावमा आफूले अध्यक्ष पद नजिते पनि नैतिक रुपमा अध्यक्ष पद जितेको बताएका छन् ।
चितवन महाधिवेशनमा पराजित भएपछि पहिलो पटक अछाम पुगेर सार्वजनिक कार्यक्रममा देखा परेका नेता रावलले चुनावमा हार/जित हुनु स्वभाविक रहेको बताए ।
‘प्रत्येक व्यक्तिलाई चुनावमा प्रतिस्पर्धा गर्ने अधिकार छ । चाहे त्यो संसदीय वा पार्टीको चुनाव होस् । यदि त्यसविपरीत भए निरंकुशता हुन्छ । आठौँ महाधिवेशनको बुटवल महाधिवशेनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीजी र म उापध्यक्ष पदमा उठेका थियौँ । तर, दुवै हार्यो । निर्वाचनमा उठेपछि हारजित हुनु स्वभाविक हो । पराजयको कुरा गर्नुहुन्छ भने, यो दशौँ महाधिवेशनमा मैले जुन देशभक्ति भण्डा उठाएको थिएँ । पार्टीको विधि, पद्धतिको उठाएको थिएँ । मैले आज चुनाव जितेको छु, हारेको छैन,’ उनले भने ।
नेता रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको पनि बताए।
अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको पनि नेता रावलले बताएका छन् । सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
नेता रावलले एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड दिए । एमसीसीविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको स्पष्ट पारे ।
नेता रावलले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताए । यो खबर