सर्लाहीमा कांग्रेस अधिवेशन गराउन नसकेर तेस्रो निर्वाचन अधिकृत पनि जिल्ला छाडेर भागेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत भरत राउत बिहीबार अधिवेशन गराउन छाडेर भागेका हुन् ।
उनी अधिवेशन गराउनु एक दिनअघि सर्लाही छोडेर हिँडेका छन्। क्रियाशील सदस्यताको विवादले उग्र रुप लिँदै आएको सर्लाहीमा यसअघि अधिवेशन गराउने क्रममा गोली समेत चलेको थियो।
जसरी भए पनि अधिवेशन गराउनुपर्ने बाध्यताका बाबजुद भोलि (शुक्रबार) प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गराउने तयारी थियो। तर, निर्वाचन अधिकृत नै डरले भागेर हिँडेपछि निर्वाचन अन्योलमा परेको छ ।
यसअघि सर्लाहीमा २ जना निर्वाचन अधिकृतले अधिवेशन गराउन नसकेर राजीनामा बुझाएर हिँडेका थिए। त्यसपछि निर्वाचन गराउन तेस्रो अधिकृत भएर आएका राउत पनि बिहीबार मध्याह्न सर्लाही छाडेर हिँडेका छन् ।
गुटगतका कारण सर्लाहीमा तोकिएको समयमा निर्वाचन हुन सकिरहेको छैन ।