शिवालय : शिवालय गाउँपालिकामा वडाध्यक्ष र सव इन्जिनियरबीच भएको बिबाद टुंगिएको छ । गाउँपालिका कार्यालयमा भएको छलफलमा वडा कार्यालयबाट सम्पादन हुने कार्यहरु आपसी समन्वय र सहकार्यमा सम्पन्न गर्ने प्रतिबद्धता सहित बिबाद टुंगिएको वडाध्यक्ष बिरवल खत्रीले बताए ।
वडा नं ७ का वडाध्यक्ष बिरवल खत्री र सव इन्जिनियर रविन्द्र बहादुर शाही बीच एकले अर्कोलाई कुटपिट गरेको र अपमान गरेको आरोप लगाउदै आएका थिए ।
सव इन्जिनियर शाहीले आफुलाई वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका थिए भने वडाध्यक्ष खत्रीले शाहीले आफुलाई अपशब्द प्रयोगगरि अपमानित गरेको दाबी गरेका थिए । वडाध्यक्ष खत्री र सव इन्जिनियर शाही दुबै जनाले विभिन्न मिडियामा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अब भ्रममा नपर्न संयुक्त जारी विज्ञप्ति मार्फत आग्रह गरेका छन ।
