नेपाली काँग्रेस १४ औं महाधिवेशन एक हप्ता पछाडि सार्ने निर्णय गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए । आगामी असार ३ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्नेछ ।
गत फागुनमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । पुरानो कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम सम्पन्न नभएपछि अधिवेशनको तालिका पनि संशोधन गर्ने निर्णय भएको छ । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार यसअघि असार ५ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ ।
गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएकोछ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भदौँ १ र २ गते हुनेछ ।
पदाधिकारीले शंसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ ।