नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सातै प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया काफ्ले र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए। उनीहरुलले पार्टी विभाजनपछि आफ्नो पार्टीका केही नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए ।
बैठकको सुरुमा बोलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गरेर सर्वोच्च अदालतले अनावश्यक ठाउँमा हात हालेको बताए। उनले पार्टीको वर्तमान अवस्था र देखिएको चुनौतीको विषयमा पनि ब्रिफिङ गरेको थिए। त्यसपछि बोलेका नेता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई सरकारबाट हटाउनैपर्ने बताएका थिए।
यस्तै, केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकले शनिबार गरेको निर्णयलाई पारित गरेको छ। हिजो स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो। सोही बैठकले एमालेमा केन्द्रीय सदस्य भएकाहरुलाई पार्टी छाडेको वा नछाडेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो ।
आजको बैठकले सरकारलाई दिएको समर्थनका विषयमा पनि कुनै निर्णय गरेको छैन ।
विभिन्न ६ वटा एजेण्डा अघि सारेको बैठकले भोलि पनि निरन्तरता पाउने भएको छ। भोलिदेखि केन्द्रीय सदस्यहरुले आफ्ना विचार राख्नेछन् ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओबीचको एकतालाई खारेज गरिदिएपछि पहिलोपटक आज माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको हो ।