काठमाडौं । तराईका प्राय जिल्लाहरुमा मिटरब्याजले जनजीवन प्रभावित बनाउँदै लिएको छ । मिटरव्याजीले ऋण दिने र त्यसको ब्याज नै तिर्न नसक्ने गरि साँवा बाँकी राख्दै अन्तिममा सुकुम्बासी नै बनाउने प्रवृति बढेको देखिन्छ ।
यो क्रम बढ्दै जाँदा पछिल्लो समय मिटरव्याजपीडितहरु संगठित रुपमै आन्दोलनमा छन् । आन्दोलन जारी रहँदा समय समयमा प्रहरी र उनीहरुबीच झडप समेत हुने गरेको छ ।
सोमबार पनि आन्दोेलनका क्रममा झडप भयो । प्रहरी हस्तक्षेप भएको भन्दै मंगलबार उनीहरुले गृहमन्त्रीविरुद्ध नै आन्दोलन चर्काए ।
मिटरव्याज पीडितहरुले पछिल्ला दिनहरुमा लगातार प्रदर्शन गर्दै आएका छन् । तराईका केहि जिल्लाहरुबाट उनीहरु काठमाडौं नै आएर न्यायकालागि प्रदर्शन गरिरहेका छन् ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।
सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।
प्रहरीले मिटरब्याजी पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको प्रहार समेत गरेको प्रदर्शनकारीको दाबी छ । यसैक्रममा प्रहरीसँग झडप नै भयो । दोहोरो झडपका क्रममा केही पीडितहरु घाइते भए ।
प्रहरीले प्रदर्शनमा लगाउन खोजेको अंकुश तोड्न खोजेका उनीहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिएका छन् । प्रहरी प्रशासनले पीडितमाथि नै दमन गरेको उनीहरुको आरोप छ ।
प्रहरी प्रशासनलाई चलाउने गृहमन्त्रीले यस घटनालाई गम्भिरताका साथ नलिएको भन्दै उनीहरुले मंगलबार गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।
मिटरब्याजलाई सरकारले आपराधिक कार्यका रुपमा लिएको छ । त्यसैले पनि मिटरव्याजीहरुलाई कारबाहीको दायरामा ल्याउनु सरकारको कर्तव्य हो । तर, न्याय पाउन पीडितहरुले कडा मेहेनत गरिरहनु परेको छ ।
गएको चैत्र महिनामा नै तराईका केहि जिल्लाहरुबाट पैदल नै हिडेर काठमाडौमा आएको पीडित समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई नै भेटेर गृह मन्त्रालयका पदाधिकारीसँग सम्झौता नै गरेको छ ।
सम्झौता अनुसार सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय गरिसकेको छ ।
छानविनको आधारमा कारबाही अघि बढाउने भन्दै केहि मिटरब्याजीको आरोप खेपेकाहरु पक्राउ समेत परिसकेका छन् ।
चैत १८ गते ५ बुँदे सहमति गरे पश्चात फेरि उस्तै समस्या ल्याएर अर्को पक्ष निरन्तर आन्दोलनमा छ ।
यतिबेला आन्दोलनमा सक्रिय समूहले सरकारले पहिलो समूहसँग गरेको सम्झौता नै धोका भएको टिप्पणी गर्दै आएको छ ।
सरकारसँग वार्तामा समेत बसेको उक्त समूहले वार्तालाई एकतर्फी ढंगले भंग भएको घोषणासहित सडक संघर्षमा छ ।
सरकार र संघर्षरत पक्षबीच तनावको स्थिति बन्दै गएको छ । सोमबारको घटनालाई लिएर धारणा बनाउँदै राज्यले दमन ग¥यो भन्ने आवाज बुलन्द भइरहेका छन् ।
तर, आन्दोलनका लागि भन्दै विभिन्न समूह किन बनिरहेका छन ? पीडितको मनोभावनालाई देखाएर कसैले राजनीति गर्न त खोज्दैछैन ? यि र यस्ता प्रश्न समेत पेचिलो बन्दै आएका छन् ।