च्याउ खेतीमा आकर्षण व्यावसायिक !

उज्यालो खबर मुख्य खबर

दैनिक १० हजार किलो च्याउ खपत हुने गरेको पाइएको छ। च्याउमध्ये दैनिक चार हजारसम्म आयातीत च्याउ खानुपर्ने बाध्यता छ। 

पछिल्लो समयमा व्यावसायिक च्याउ खेती गर्ने कृषक बढेका छन्। तर, पनि माग अनुरूप उत्पादन हुन नसक्दा अझै ४० प्रतिशत हिस्सा आयातमै भर पर्नुपरेको छ। 

च्याउ उत्पादक संघका अनुसार बर्सेनि तीन अर्बबराबरको च्याउको कारोबार हुन्छ। कन्ये, गोर्बे, सिताके र राजाच्याउ व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। त्यसमध्ये सबै जिल्लामा पाइने कन्ये च्याउ हो। कन्ये च्याउमा करिब आत्मनिर्भर छ। संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार व्यावसायिक च्याउखेतीतर्फ आकर्षण बढ्दै गएको छ। 

सिताके च्याउ उत्पादन वृद्धि हुन सकेको छैन। उत्पादन भन्दा बजारमा समस्या भएकाले सिताके च्याउ उत्पादन गर्न नसकिएको कार्की बताउँछन्। आधुनिक मेसिन प्रयोग गरेर राजाच्याउ उत्पादन हुने भएकाले बलम्बु र गैंडाकोटमा मात्रै उत्पादन हुने गरेको छ। यो च्याउ तरकारीमा नभई औषधि तथा चियाका रूपमा प्रयोग हुन्छ। 

च्याउमा प्रत्यक्षरूपमा पाँच हजारले रोजगारी पाएका छन्। च्याउ खेतीमा संलग्न हुनेको संख्या ३१ हजार छ। कच्चा पदार्थमा सात सय जनाको रोजगारी सिर्जना भएको छ। पराल, छ्याली मधेस प्रदेशबाट आउँछ। त्यस्तै बीउ व्यवसायमा ८० करोड लगानी भएको छ। ६० देखि ७० वटा ल्याब छन्। 

२०६१ संघदेखि च्याउ कृषक संगठित भएका छन्। संघमा १५ हजार सदस्य छन्। संघका अनुसार ३५ वटा जिल्लामा व्यावसायिक च्याउ खेती हुन्छ। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, बुटवल, नारायणगढलगायत सहरी क्षेत्रमा च्याउ खेती हुन्छ। खपत हुने सहरी क्षेत्रमै उत्पादन हुँदै आएको छ।  संघले २०७६ देखि पुस १५ च्याउ दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा जागरण अभियान गर्ने गरेको कार्की बताउँछन्। यस वर्ष पनि च्याउ महोत्सव, प्रभातफेरी र पिकनिक आयोजना गरिएको कार्की बताउँछन्। बागमती प्रदेश सरकारले च्याउ दिवसको मान्यता दिएको थियो। यस वर्ष च्याउ महोत्सव हुँदै छ। 

व्यावसायिक रूपमा च्याउ खेतीमा आकर्षण भए पनि कृषकलाई धेरै सहज छैन। च्याउ खेतीबाट परिवार चलाउन सकिने कार्की बताउँछन्। १५ सय पोका परालमा च्याउ खेती गर्न ३ लाख ५० हजारदेखि ४ लाखसम्म लगानी गर्नुपर्छ। हेरचाह नपुगेमा ढुसी लागेर व्यवसाय चौपट हुन सक्छ। ढुसी नलागेमा तीन महिनामा सात लाखसम्म पनि कमाउन सकिने अध्यक्ष कार्की बताउँछन्। 

गोलो च्याउ एक गाडी पराल २० हजार रुपैयाँमा आउँछ। ४० हजार खर्चमा एउटा टनेलमा सुरु गर्दा पनि सिजनमा ७० हजारसम्म कमाउन सकिन्छ। तापक्रम उच्च चाहिने भएकाले विशेष ध्यान दिनुपर्छ। यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *