सुनकोशी-मरिन डाइभर्सन सुरुङ निर्माण गर्न थालियो कहिले सकिन्छ ? 

उज्यालो खबर मुख्य खबर

राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम सुरू भइसकेको छ। 

गत शुक्रबारदेखि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ। यो प्रविधिबाट सुरुङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले जनाएको छ।

सुरुङ निर्माण दुई वर्ष भित्र सक्ने लक्ष्य आयोजनाको छ। आयोजना मित्र बरालले समयमै काम सम्पन्न गर्ने दाबी गरेका छन्। 
यो परियोजनाको मुख्य उद्देश्य प्रदेश-२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु हो। तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाई सुविधा पुर्‍याउने  उल्लेख छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ। 

यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्‍याइने छ। 

खुर्कोटबाट पानीलाई सुरुङमार्फत सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ। जसबाटै ३१.७ मेगावाट विद्युत् उत्पादन गरिनेछ। 

त्यहाँबाट निश्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ। जसबाट बागमती सिँचाइ आयोजनामा करीब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ। बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पानी पुर्‍याउने उल्लेख छ।

 सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ । त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ।

सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत् वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ। 

उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना छ। यो आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते  यो आयोजना शिलान्यास गरेका थिए। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *