काठमाडौं । पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य आकाशियको छ । मंसिर महिनासम्म माग नहुँदा मूल्य घटेको सामग्रीको फागुन लागेसँगै उच्च मूल्य बृद्धि भएको हो ।
निर्माण सागम्री व्यवसायीका अनुसार पछिल्लो समय फलामे डण्डीको मूल्य आकाशियको छ । एक महिनाको अवधिमा छडको मूल्य किलोमा ३५ रुपैयाँसम्मले बढेको छ । छड उत्पादन गर्ने उद्योगहरुले पछिल्लो समय दैनिक जसो मुल्य बढाउँदा मूल्य आकाशियको हो ।
ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवाल निर्माणजन्य सामग्रीका लागि तेस्रो देशको भर पर्दा मूल्य आकाशियको बताउँछन् । उनका अनुसार पछिल्लो समय छड, स्टल, जस्तापाता लगायत अधिकांश सामग्रीको मूल्य बढेको छ ।
व्यापारीहरुका अनुसार गत मंसिर महिनामा प्रतिकिलो १०२ रुपैयाँदेखि ११० रुपैयाँसम्म रहेको छडको मूल्य हाल १३० देखि १३५ रुपैयाँसम्म पुगेको छ ।
निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अच्युतम कटुवाल छडको मूल्य उच्च भएको बताउँछन् ।
‘अहिले पेट्रोलियम पदार्थको मूल्य उच्च भएको छ, त्यसलाई नै देखाउँदै छड उद्योगीले मूल्य बढाएका हुन्, हामीले बढेर आएको मूल्यमा बिक्री गर्ने हो, अहिले प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको छ,’ कटुवालले भने ।
उनका अनुसार यसअघि ८४ रुपैयाँदेखि ९२ रुपैयाँसम्म रहेको छडको मूल्य बढेर हाल १३३ देखि १३५ रुपैयाँसम्म पुगेको हो ।
‘फ्याक्ट्रीबाट नै बढेर आएको छ, खरिद गरेको मूल्यमा हामीले प्रतिकिलो ५० पैसादेखि १ रुपैयाँ नाफा राख्ने हो’, उनले भने ।
यस्तै, उनले छडपछि उद्योगीले सिमेन्टको मूल्य बढाउने तयारी गरेका बताए । उनका अनुसार अहिले नै सिमेन्टको मूल्य बढिसकेको छैन, तर उद्योगीले प्रतिबोरा ३० रुपैयाँसम्म बढाउने तयारी थालेका छन् ।
निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंह पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य आकाशियको बताउँछन् । पछिल्लो एक महिनाको अवधिमा दोब्बरजस्तो मूल्यबृद्धि भएको उनको भनाई छ ।
निर्माणको सिजनमा नै मूल्य आकाशिदा समस्या भएको उनको भनाई थियो ।
निर्माण सिजनमा नै सामग्रीको मूल्य आकाशिदा उपभोक्तालाई समस्या भएको छ । दैनिकजसो निर्माणजन्य सामग्री सहित दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिदा बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय मौन जस्तै देखिएका छन् ।
बजारमा हाल छडको मूल्य आकाशियको गुनासोपछि वाणिज्य विभागले अनुगमन गर्ने जनाएको छ । छडको मूल्यको विषयमा धेरै गुनासो आएपछि उद्योगीसँग छलफलको तयारी भएको विभागका निर्देशक हरि पंगेनीले बताए ।
‘विभागसँग सिमित मात्रामा अनुगमन गर्ने कर्मचारी छन्, अहिले सबै स्थानबाट मूल्य बढेको गुनासो आएको छ, हामीले धेरै गुनासो आएका वस्तुकेन्द्रीत अनुगमन गर्ने गरेका छौं, छडको विषयमा धेरै गुनासो आएको छ, हामी अध्ययन गर्दछौं,’ उनले भने ।
३० प्रतिशत मात्र माग
पछिल्लो समय नेपाल राष्ट्र बैंकले कर्जामा कडाई गरेपछि निर्माण सामग्रीको बजार खस्किएको व्यवसायीहरु बताउँछन् ।
बैंकले ऋण लगानी गर्न छोड्दा र सरकारको पुँजीगत खर्चमा कमि आउँदा (पर्याप्त मात्रामा निर्माणका कामहरु नहुँदा) निर्माण सामग्रीको माग÷खपतमा कमी आएको हो ।
व्यवसायीहरु पछिल्लो समय निर्माण सामग्रीको मागमा ७० प्रतिशतले कमी आएको छ । निर्माणकै सिजनमा मागमा बृद्धि नभए तापनि मूल्य आकाशिएको हो ।