कोइलाखानीमा अड्किएको जीवनकथा

उज्यालो खबर मुख्य खबर

३० फागुन, दाङ । घोराहीको उत्तरी भेगमा सुक्खा र उराठलाग्दा पहाड उभिएका छन् । पहाडको काखमुनि छन् वैराग लाग्ने केही गाउँ । त्यही गाउँको मुनि काला चट्टानले भरिएका ५०० मिटर गहिरा कोइलाखानी छन् । २५ वर्षयता पहाडमुनि खनिएका कोइलाखानीका सुरुङले गाउँको पेट मात्र भरेको छैन, कालापत्थरसँग सिंगो गाउँको जीवनकाल र जवानी साटिएको छ । दाङ र रोल्पाको सीमा जोड्ने यी पहाडले सिंगो गाउँको दुःख र वेदनाको कथा बोकेको छ । गाउँलेलाई अझै दुःख दिइरहने संकेत गरिरहेको छ ।

****

हिउँदको एक बिहान, सधैं झैं कुहिरोले गमक्कै ढाकेको छ गाउँ । घोराही–१९ सैघाका यमबहादुर घर्तीले डिलमा उभिएर उमेरको हिसाब गरे । १४ वर्षको छँदा कोइलाखानीमा छिरेका उनी अहिले ४४ वर्षका भइसके । ‘ओ हो, आधा जीवन त गैसकेछ’ २० वर्ष सुरुङभित्रै बिताएका घर्तीले बाँकी जीवन पनि यसैगरी बित्ने अनुमान गरे, ‘जिन्दगी कोइलाखानीले नै खाने भयो ।’

जीवनभर उनी बाहिरी संसारबाट बेखबर रहे र कोइलाखानीको अँध्यारोभित्र कालापत्थर फोडिरहे । जोवन र बैंसका दिनहरू कोइलासँग साटे । अहिले पनि उनी गहिरा सुरुङको अँध्यारोभित्र पुगेर हरेक दिन कोइला खन्ने र निकाल्ने गरिरहेका छन् । तर अझै उनले यो दुःखबाट छुट्कारा पाउने कुनै संकेत मिलेको छैन, बरु उल्टै उनका कान्छा छोरा पूर्णबहादुर घर्ती समेत पछिपछि लागेर त्यही सुरुङभित्र आइपुगेका छन् । १६ वर्षको छोरो आफ्ना दुःख पछ्याउँदै आएको देखेर उनको मन खिन्न हुन्छ । ‘कतै छोराको जीवन पनि आफ्नो जस्तै कोइलाखानीमै बित्ने त होइन ?’ उनी आफ्नो कलिलो छोराको मुहारमा आफ्नै अनुहारको झल्को देख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *