प्रभु बैंकको ४० करोड कर्जा संकटमा !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । ठगी मुद्दामा थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रभु बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । उनले बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको हो ।

सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले तामाङको बौद्धमा निर्माणाधीन हाउजिङमा प्रभु बैंकले सो रकम लगानी गरेको भेटेको हो । यद्यपि, विभागको अनुसन्धान टोलीले सो हाउजिङ पनि नयाँ नै फेला पारेको हो ।

यसअघि सो हाउजिङका बारेमा विभागलाई जानकारी नभएपनि अनुसन्धानकै क्रममा भेटिएको हो । अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार तामाङले सो हाउजिङ निर्माणका लागि प्रभु बैंकबाट ४० करोड रुपैयाँ ऋण लिएका छन् ।

‘यसअघि हामीलाई हाउजिङ र सो हाउजिङ निर्माणका लागि लिएको ऋणको विषयमा कुनै जानकारी थिएन तर, अनुसन्धान गर्दै जाँदा तामाङका आफन्त र पीडितहरूसँग बयानका क्रममा निर्माणाधीन हाउजिङ भेटियो, त्यसमा प्रभु बैंकले ४० करोड रुपैयाँ लगानी गरेको रहेछ,’ ती अनुसन्धान अधिकारीले भने ।

सो कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । सोही कम्पनी नै धितोमा राखेर प्रभु बैंकले ऋण लगानी गरेको स्रोतको भनाई छ । अहिले विभागले उक्त क्षेत्रमा रहेका निर्माणाधीन संरचना र कम्पनीका नाममा रहेको सम्पत्ति मूल्यांकनको काम गरिरहेको छ ।

प्रभु बैंकले कम्पनी धितो राखेर प्रवाह गरेको ४० करोड रुपैयाँ असुल हुँदैन कि भन्ने चिन्ता पनि छ । यस बारे भने प्रभु बैंकले कुनै प्रतिक्रिया दिएको छैन । प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले यस विषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

तामाङ र सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठका नाममा सो कम्पनी दर्ता छ । जसको चुक्ता पुँजी ५ करोड मात्र छ । ४ करोड ५० लाख तामाङको र ५० लाख रुपैयाँ श्रेष्ठको लगानी रहेको खुलेको छ । सो हाउजिङको क्षेत्रफल भने २० रोपनी रहेको बुझिएको छ । तामाङ अहिले सिभिल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिाना गरेको आरोपमा थुनामामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *