पानीमा डुबिहरहेको अवस्थामा, रौतहटको बाग्मती नदीमा महिलाको शव फेला !

उज्यालो खबर मुख्य खबर

रौतहट । रौतहटको बागमती नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित बागमती खोलामा शुक्रबार पूर्ण नग्न अवस्थामा अन्दाजी ५०–५५ वर्षको महिलाको शव पानीमा डुबिहरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालका अनुसार मंगोलियन अनुहार भएकी ती महिलाको शव बागमती पुल नजिकैको झाडीमा पानीमा डुबिरहेको अवस्थामा फेला परेको हो ।

महिलाको हालसम्म कुनै पहिचान खुल्न नसकेको हाल शवलाई पोष्टमार्टमको लागि गौर अस्पतालमा लगिएको उनले जानकारी दिए ।

‘नुहाउने वा दाउरा खोज्न नदी किनारमा जाने क्रममा बगाएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान हामीले गरेका छौं ’ खनालले भने, ‘लाशको प्रकृति हेर्दा घटना आजकै दिनको हुनसक्छ । हामीले मृतकको पहिचानको लागि सबैतिर सूचना गरेका छौं । कसैले आफन्त हराएको भए प्रहरीमा सम्पर्क गर्नुहोला ।’

गढीमाइ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार शुक्रबार दिउँसो करिब ३ बजेतिर दाउरा बटुल्न गएका स्थानीय महिलाहरुले नदीमा शव देखेपछि स्थानिय प्रशासनलाई खबर गरेको बताए ।

शरिरमा कुनै कपडा नभएको अवस्थामा नदीमा भेटिएकी महिला नजिकैको गाउँपालिका आसपासको हुनसक्ने उनले अनुमान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *