सांसद भण्डारीको अडान – म स्वदेशमै उपचार गर्न चाहन्छु

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।

गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए।

उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका छन्।

सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ।

‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्। तर सांसद भण्डारीले आफू र आमाको उपचार स्वदेशकै अस्पतालमा गर्नुपर्ने अडान राखेका छन्।

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले अस्पताल पुगेर आज बिहान जानकारी लिएका छन्। यस्तै कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू एनपी साउद र प्रदीप पौडेल तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पनि अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सांसद भण्डारीको सचिवालय स्रोतका अनुसार उनलाई मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगेर उपचार गर्नेबारे छलफल भइरहेको छ। एयर एम्बुलेन्स ल्याउन ढिलाइ हुने भएकोले श्री एयरलाइन्सको जहाज चार्टर गरी सांसद भण्डारी र उनकी आमालाई मुम्बई लैजाने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *