पक्राउ परेनन् अभियुक्त, एकल महिलाको हत्यापश्चात् दुई छोरीको विचल्ली !

उज्यालो खबर मुख्य खबर

धरान-१३ मा डेरा गरी बस्दै आएकी ४२ वर्षीय एकल महिला उषा राईको हत्यापश्चात् दुई छोरीको विचल्ली भएको छ। 

कोरोनाको पहिलो  चरणमा श्रीमान् गुमाएर धरानमा कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी उषाको स्थानीय जनजागृति आमा समूहका पदाधिकारी तथा सदस्यको कुटपिटबाट मंगलबार मृत्यु भएको हो। 

जेठी छोरी २२ वर्षीया स्मृति र कान्छी छोरी ९ वर्षकी तेरियाको विचल्ली भएको छ। स्मृति बीबीएस तेस्रो वर्ष र तेरिया कक्षा ३ मा अध्ययनरत छन्। 

बुवाको निधनपश्चात् आमाले धनकुटाको छिन्ताङबाट धरान झाररे कपडा सिलाएर बहिनी र आफ्नो पढाइ र लालनपालन गर्दै आएको स्मृतिले बताइन्। 

आमा समूहका नाममा आमाको हत्या गरी टुहुरो बनाएको स्मृतिले बताइन्। उनले आमाको हत्या गर्नेहरूलाई प्रहरीले पक्राउ नगर्दा झन पीडा थपिएको बताइन्। 

उनको परिवारले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल शव नबुझ्ने चेतावनी दिएका छन्। धरान-१३ गोविन्द राईसँग सम्बन्ध राखेको झुटो आरोप लगाउँदै उनकी श्रीमती उर्मिला राई लगायत आमा समूहका दर्जन बढीले उषालाई कुटपिट गरेको भिडियोमा स्पष्ट देखिन्छ। 
गोविन्दकी श्रीमती उर्मिला, कमला राई, रत्न लिम्बु, सिर्जना राई, मीना राई लगायतका आमा समूहका महिलाले कुटपिट गरी हत्या गरेका थिए। हत्यामा संलग्न सबै फरार छन्। 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले हत्यामा संलग्न सबैको पहिचान भइसकेको बताएका छन्। उनले अभियुक्तलाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको बताए। 

कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले उषाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी तत्काल कानुनी कारवाही अगाडि बढाउन माग गरेकी छिन्। 

उनले दुःख गरेर जीविकोपार्जन गर्दै आएकी एकल महिलाको हत्याले समग्र महिलाको शिर झुकेको बताइन्। 

उषाका भाइ सुन्दर राईले दिदीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याएर पीडित परिवारलाई सान्त्वना दिन अनुरोध गरेका छन्। उनले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेलसम्म दिदीको शव नउठाउने बताए। यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *