विराटनगर : लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने एकजना चालक विराटनगरबाट पक्राउ परेका छन् ।
को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर विराटनगरबाट सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा इटहरी उपमहानगरपालिका–१३ घर भएका ३८ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठलाई विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट बुधबार बिहान १० बजेतिर पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण गर्दा उनले लागुऔषध डाइलेक्स डीसी र गाँजा सेवन गरेको पुष्टि भएको छ । परीक्षण गर्ने उपकरणमा किट र पिसाब राखेर जाँच गर्दा श्रेष्ठको लागुऔषध सेवनसम्बन्धी रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले श्रेष्ठलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेका चालकविरुद्ध लागुऔषध सेवन सम्बन्धी मुद्दा चलाइने जानकारी दिए ।
लागुऔषध सेवन गरेर चलाइएको मे १ ख ३०८९ नम्बरको बसका चालक सुनसरीको इटहरी घर भएका २३ वर्षीय शौरभ लाखेलाई मंगलबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो । चालकले लागुऔषध सेवन गरे/नगरेको पत्ता लगाउन सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर विराटनगरमा मंगलबारदेखि ट्राफिक प्रहरीले लापसे (लागुपदार्थ सेवन) सम्बन्धी जाँच सुरु गरेको छ ।
सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक)लाई लक्षित गरेर परीक्षण सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीको भनाइ छ । उनका अनुसार सवारीसाधनमा काम गर्नेहरुले लागूऔषध सेवन गर्ने गरेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको हो ।
लागूऔषध सेवन गरेर सार्वजनिक सवारीसाधन चलाउने गरिएको गुनासोसँगै त्यसको लतबाट चालकलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले प्रदेश १ मै पहिलोपटक नयाँ र विशेष अभियान सुरु गरिएको कार्कीले बताए । लागुऔषध सेवन गरेर चालकले सवारीसाधन चलाएको शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न उनले सबैमा आग्रह गरे छन् । लागुऔषध सेवन गर्ने चालकलाई पक्राउ गरेर प्रहरीले कारबाहीको दायरामा ल्याउने गरेको छ । यो खबर अन्नपुर्ण खबर मा छ ।