संस्कृत पढ्न टाढा-टाढाबाट आउँछन् १४५ वर्ष पुरानो स्कुल !

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी

राम्रा सामुदायिक स्कुल

ओजस्वी लामिछाने चन्द्रगिरि नगरपालिकाको नैकापबाट संस्कृत पढ्न दरबार हाइस्कुल पुग्छिन्। कक्षा ८ मा पढ्ने ओजस्वीलाई उनका बुबा अविनाश लामिछानेले विद्यालय पुर्‍याउने र घर लैजाने गर्छन्।

ओजस्वीलाई नजिकका विद्यालय छाडेर संस्कृत पढाउन सात किलोमिटर टाढाको स्कुल पठाएको अविनाश बताउँछन्। 

‘घरनजिकै सामुदायिक विद्यालय छ तर संस्कृत पढाइ हुँदैन,’ उनले भने, ‘संस्कृत पढाउनकै लागि बिहान बेलुका एक–एक घन्टा समय दिएर विद्यालय पुर्‍याउने र लैजाने गर्छु।’

ओजस्वीलाई संस्कृत पढाउने इच्छा उनका बुबा अविनाशकै हो। उनी आफू पनि संस्कृत माध्यमिक विद्यालयकै विद्यार्थी थिए। उनले कक्षा ६ र ७ संस्कृत माविमा पढेका थिए।

अविनाश अहिले पनि संस्कृत माविमा अपराह्न चार बजेदेखि छ बजेसम्म संस्कृत व्याकरण पढ्दै छन्। 

उनी आफू पढुन्जेल छोरीलाई पनि सँगै राख्छन्। अविनाश श्रीमद्भगवद् गीता पनि अध्ययन गर्छन्। 

‘दुई घन्टा संस्कृत व्याकरण पढ्छु। त्यतिन्जेल छोरी पनि सँगै बसेर पढ्छिन्,’ उनले भने, ‘संस्कृत भाषा जति पढ्यो पढ्न मन लाग्दो रहेछ।’

ओजस्वीको रूचिअनुसार नै अविनाशले उनलाई कलंकीको एक निजी स्कुलबाट संस्कृत पढाउन दरबार हाइस्कुलसम्म पुर्‍याएका हुन्। अविनाशलाई आफ्नी छोरीले संस्कृतमै विद्यावारिधि गरेर छुट्टै पहिचान दिलाऊन् भन्ने इच्छा छ।

अविनाशजस्तै अन्य धेरै अभिभावकले आफ्ना छोराछारीलाई संस्कृत पढाउन दरबार हाइस्कुलमा पठाएका छन्। 

काठमाडौंमा रानीपोखरीको पश्चिमपट्टि छ दरबार हाइस्कुल।

वस्तुतः वर्तमानमा ‘दरबार हाइस्कुल’ भन्नु भवन मात्र हो, विद्यालय होइन। अर्थात् स्कुलको नभई भवनको नाम हो। त्यस भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित छन्।

यी दुई विद्यालयको संक्षिप्त इतिहास थाहा पाऔं। 

प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना पारिवारिक सदस्यहरूलाई अंग्रेजी पढाउने उद्देश्यले १९१० सालमा दरबार हाइस्कुल नाम राखेर थापाथली दरबारमा एउटा स्कुल स्थापना गरेका थिए। त्यही समय जंगबहादुरकै साहिँला छोरा जितजंगले आर्यघाट नजिकै राजराजेश्वरी घाटमा संस्कृत भाषा पढाउने व्यवस्था गरेका थिए। यो औपचारिक विद्यालय नभई गुरुकुल स्तरको मात्रै थियो। 

जंगबहादुरपछिका प्रधानमन्त्री रणोद्दीपले त्यही गुरुकुल आफ्नो दरबारनजिकै रानीपोखरी किनारमा सारेर संस्कृत विद्यालय चलाए। विद्यालयलाई १९३४ सालमा सरकारी स्वीकृति पनि दिए। पछि अर्का राणा प्रधानमन्त्री वीर शमशेरले रानीपोखरीको पश्चिमपट्टि भवन बनाएर त्यही संस्कृत विद्यालय सारे। त्यही विद्यालय आजको संस्कृत माध्यमिक विद्यालय हो। सरकारी स्वीकृति पाएको मितिका हिसाबले यो स्कुल १४५ वर्ष पुरानो हो।

उता दरबार हाइस्कुल स्थापना भएको चार दशक हुन लाग्दासम्म पनि त्यसको भवन थिएन। अनेक ठाउँमा सर्दै चलेको थियो। पछि वीर शमशेरले संस्कृत माविकै भवनमा तला थप्न लगाए। अनि १९४८ सालमा दरबार हाइस्कुल त्यहीँ सारे। 

यसरी एउटै भवनमा दरबार हाइस्कुल र नेपाल संस्कृत मावि चल्न थाले। 

धेरै पछि, २०२४ सालमा, दरबार हाइस्कुलको नाम फेरेर भानु मावि राखियो। 

यो ऐतिहासिक विवरण संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले विद्यालयको मुखपत्र ‘वाणी’ मा प्रकाशित आफ्नो एक लेखमा उल्लेख गरेका छन्।

DCIM\101MEDIA\DJI_0633.JPG

यसरी एउटै भवनमा दुई वटा विद्यालय चले पनि भवनको नाम दरबार हाइस्कुल नै रह्यो।

२०७२ को भुइँचालोले दरबार हाइस्कुल क्षतिग्रस्त भएको थियो। त्यही दरबार हाइस्कुल अहिले चार तलाको बनेको छ। चीन सरकारको सहयोगमा बनेको आधुनिक भवनको भर्‍याङबाट दायाँतर्फ भानु माविका विद्यार्थी पढ्छन्, बायाँतर्फ संस्कृत माविका।

क्यान्टिन र शौचालय दुवै स्कुलका लागि साझा छन्। भवनको चौथो तलामा संस्कृत माविको पुस्तकालय छ। विद्यार्थी आफ्नो अनुकूल समयमा पुस्तकालय जान्छन्। 

भवनमा कुल ४६ वटा कोठा छन्। तीमध्ये २१ वटा कोठा संस्कृत माविले प्रयोग गरेको छ। कक्षाकोठा चिटिक्क छन्। एउटा कोठामा बढीमा ४० जना विद्यार्थी अटाउँछन्। 

कुनै समय छात्र मात्र पढ्ने संस्कृत माविमा अहिले छात्राहरू पनि छन्। प्रधानाध्यापक अधिकारीका अनुसार संस्कृत माविमा कुल ४२१ जना विद्यार्थीमध्ये ६० जना छात्रा छन्। विद्यार्थी संख्या घटबढ भइरहन्छ। भूकम्पपछि संस्कृत मावि प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सरेको थियो। त्यो बेला दुई सय हाराहारी विद्यार्थी थिए।

प्रधानाध्यापक अधिकारीका अनुसार दरबार हाइस्कुल नयाँ बनेर त्यहीँ पढाइ हुन थालेपछि विद्यार्थी संख्या दोब्बरभन्दा बढी भएको छ। काठमाडौंबाहिरका विद्यार्थीको संख्या अधिक छ। करिब ९० प्रतिशत विद्यार्थी काठमाडौं बाहिरका छन्। 

संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै आधुनिक भवनको पनि प्रभाव परेको अधिकारी बताउँछन्।

उनले भने, ‘नयाँ भवनकै कारण पनि धेरै अभिभावक र विद्यार्थी आकर्षित हुनुभएको छ।’ 

संस्कृत माविमा संस्कृत भाषासँगै अन्य विषय पनि पढाइ हुन्छ। विद्यालय प्रविधिसंगत हुँदै छ। हरेक कक्षाकोठामा इन्टरनेट सुविधा छ। डिजिटल बोर्ड र प्रोजेक्टर राखिएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत संस्कृत माविले सूचना, सञ्चार र प्रविधि (आइसिटी) का लागि हालसम्म दुई पटक बजेट पाएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा ६ लाख ५० हजार रूपैयाँ पाएको थियो। त्यो रकमले दुई वटा अन्तक्रियात्मक डिजिटल बोर्ड जडान गरिएको प्रधानाध्यापक अधिकारीले बताए। सोही कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा पनि उही शीर्षकमा ६ लाख ५० हजार रूपैयाँ आयो। यसमा विद्यालयले आन्तरिक स्रोत थपेर सबै कक्षाकोठालाई डिजिटल प्रविधिमा लैजाने काम गर्दैछ। 

संस्कृत माविमा कक्षा ६ बाट पढाइ सुरू हुन्छ। पाँच कक्षा उत्तीर्ण भएर आउने विद्यार्थीले संस्कृत माविमा ६ कक्षामा भर्ना हुन पाउँछन्। 

‘सानो कक्षाको विद्यार्थीले संस्कृतबारे बुझेका हुँदैनन्,’ प्रधानाध्यापक अधिकारीले भने, ‘कक्षा ६ मा पुगिसक्दा सामान्य अर्थमा संस्कृत के हो र किन पढ्ने भन्नेबारे विद्यार्थी आफैंले पनि केही बुझेको हुन्छ।’ 

संस्कृत माविमा संस्कृत भाषा, वेद, व्याकरण, ज्योतिष, न्याय दर्शन, साहित्य लगायतका विषय पढाइ हुन्छ। कक्षा ६ देखि ८ सम्म संस्कृत भाषा र व्याकरण अनिवार्य गरिएको छ। 

ऐच्छिक प्रथम र ऐक्षिक द्वितीयमा संस्कृत भाषाका विषय पढ्नुपर्छ। ऐच्छिक प्रथममा विद्यार्थीले वेद, व्याकरण, ज्योतिष, न्याय र साहित्यमध्ये एक विषय छान्न पाउँछन्। द्वितीयमा गणित, आयुर्वेद, कर्मकाण्ड विषय छन्। 

यीमध्ये आयुर्वेद पढ्नेहरू भविष्यमा मेडिकलतिर जाने र कर्मकाण्ड पढ्नेहरू गुरु-पुरोहित बन्ने प्रधानाध्यापक अधिकारीले बताए। अन्य पाँच वटा अनिवार्य विषय अन्य माध्यमिक विद्यालयसरह पढाइ हुन्छ।

प्रधानाध्यापक अधिकारीले भने, ‘धेरै विद्यार्थीको रूचि ज्योतिषमा छ। ज्योतिष शिक्षा नगदे बालीजस्तै हो। तुरून्त काम लाग्छ।’ 

पाँच वर्षअघिसम्म संस्कृत माविमा ६ कक्षा देखि १० सम्म मात्र पढाइ हुन्थ्यो। यसपछि विद्यार्थीहरू नेपाल संस्कृत विश्वविद्यालयका क्याम्पसहरूमा जानुपर्थ्यो। धेरै जसो विद्यार्थी वाल्मीकि क्याम्पस जान्थे। संस्कृत माविले २०७४ सालमा कक्षा ११ को पढाइ सुरू गर्‍यो। हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ। 

गत वर्ष कक्षा ११ र १२ मा संस्कृतसँगै व्यवस्थापन र शिक्षा संकाय पनि थपिएको छ।

‘एक शैक्षिक सत्रमा डेढ सयभन्दा बढी विद्यार्थी भर्ना हुन आउँछन्। धेरै जसोको रूचि संस्कृतमै छ,’ उनले भने, ‘अहिले व्यवस्थापन र मानविकी पढ्न पनि आउँछन्।’ 

संस्कृत पढ्ने विद्यार्थीका लागि छात्रावास पनि छ। कक्षा ८ देखिका विद्यार्थी छात्रावासमा बस्न पाउँछन्। संस्कृत मावि र वाल्मीकि विद्यापीठको छात्रावास एउटै हो। ‘तीनधारा पाकशाला’ भनिने छात्रावास भवन त्रिचन्द्र क्याम्पसको पूर्वपट्टि दरबारमार्गसँगै जोडिएको छ।

हाल उक्त छात्रावासमा १११ जना विद्यार्थी छन्। तीमध्ये संस्कृत माविका ४७ जना छन्। विद्यालयले तोकेको मापदण्ड पूरा गरेका विद्यार्थी छात्रावासमा बस्न पाउँछन्। विद्यार्थीको घरको भौगोलिक अवस्था र परीक्षाको नतिजा मुख्य मापदण्ड छन्। विकट मानिने जिल्लाका विद्यार्थीले छात्रावासमा प्राथमिकता पाउँछन्।

‘संस्कृत धेरै पुरानो तर समृद्ध भाषा हो। भाषालाई त्यसको साहित्यले समृद्ध बनाउँछ। संस्कृत भाषा साहित्यमा निकै समृद्ध मानिन्छ। संस्कृत भाषा अथाह ज्ञानको भण्डार हो, साहित्यमा समृद्ध भाषा हो,’ प्रधानाध्यापक अधिकारी भन्छन्, ‘संस्कृत पढेकाले कर्मकाण्ड मात्र गर्ने हुन् भन्ने संकीर्ण धारणा छ। अहिलेको संस्कृत आधुनिक हो, विश्वमा बिक्ने खालको हो।’

संस्कृत मावि कवि, धर्मशास्त्री, भाषाका ज्ञाता, संस्कृत वाङ्मयका ज्ञाता, राजनीतिज्ञ लगायत उत्पादन गर्ने थलोका रूपमा रहेको उनको भनाइ छ।

यहाँ २३ जना शिक्षक छन् तर स्वीकृत दरबन्दी १५ वटा मात्र छ। स्कुलले आगामी दिनमा आयुर्वेद विषयमा प्राथमिकता दिने योजना रहेको प्रधानाध्यापक अधिकारीले बताए।

संस्कृत माविलाई काठमाडौं महानगरले ‘नमूना विद्यालय’ मा समावेश गरेको छ। महानगरको ‘एक वडा एक नमूना विद्यालय’ अन्तर्गत संस्कृत मावि छनौटमा परेको हो। नमूना विद्यालयलाई महानगरले शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक सहयोग गर्छ। यो खबर सेतोपाटी मा छ ।

सबै तस्बिर– नवीनबाबु गुरुङ/सेतोपाटी

यी पनि पढ्नुहोस्ः 

नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल

अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल

उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा

काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी

बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल

दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव 

काठमाडौंको एउटा ‘नमूना’ सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *