काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । विहीबारको सबेको आयोगको बैठकले घिसिङलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो ।
घिसिङलाई पत्र पठाएर सात दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ । नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्वीर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । सोही विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले घिसिङलाई सोधेको छ, ‘तपाईंको समेत फोटो राखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी पोष्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ? उक्त पोष्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिकरुपमा किन आपत्ति जनाउनु भएको छैन वा उजुर गर्नुभएको छैन ?’
आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ को खण्ड (क)मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण उल्लेख छ । केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उर्जासम्बन्धी निर्वाचन प्रचार सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।
जहाँ अध्यक्ष दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर राखिएको थियो । त्यसपछि घिसिङले सार्वजनिकरुपमा आफ्नो तस्वीर निर्वाचन सामग्रीमा राखिएकोप्रति आपत्ति जनाउँदै हटाउन आग्रह गरेका थिए । यो खबर news24 मा छ ।